देश । मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुगेकी हुन् । मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा ‘भिजिट नेपाल २०२०’ को निम्तो स्वीकार गर्दै जमैकाकी टोनी नेपाल आएकी हुन् । उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन् ।
टोनी नेपाल आउनुको मुख्य उद्येश्य भनेको मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवाडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्नु हो । जसको लागि उनी शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुग्ने तय भएको छ । हेलम्बु पुगेर उनले त्यहाँ निर्माण भइरहेको हिमालय ग्रेट ट्रेल अवलोकन गर्नेछिन् । हेलम्बुकै सोल्सिङ गाउँमा अनुष्काले गरिरहेको प्रोजेक्ट पनि टोनीले हेर्नेछिन् । त्यसपछि टोनी मकवनपुर पुग्ने तय भएको छ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नको लागि उनी मकवनपुर जान लागेकी हुन् । दुबै मिस नेपालले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटिल हात पारेका थिए ।












