फिल्म । आउँदो वर्ष प्रदर्शन लक्ष्य सहित फिल्म ‘परदेशी-२’ को शुभमुहूर्त गरिएको छ । गत शुक्रबार फिल्मको प्रमुख कलाकारहरुको उपस्थितिमा ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल फिल्मका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो फिल्म ‘परदेशी-२’ को छायाँकन आउँदो फागुन १५ बाट हुनेछ । यसअघि ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण गरिसकेको मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो फिल्म ‘परदेशी–२’ हो ।
यो फिल्ममा पनि परदेशमा नेपालीले भोग्ने भोगाइलाई नै प्रस्तुत गरिने निर्देशक रायमाझीले बताए । उनका अनुसार ‘परदेशी-२’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो । ‘नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनसंगै बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो’ निर्देशक रायमाझीले भने ।
यसमा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ । प्रसिद्ध गीतकार समेत रहेका रमेश बि. जी.को कथा /पटकथा, निर्देशक रायमाझीको संवाद रहेको फिल्ममा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिएकाछन् । यसमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले यसलाई खिच्नेछन् ।












