‘गुड बाई समेत भन्न पाइन ’

फिल्म । अभिनेता राजेश हमालले आफ्नो ‘आत्म कथा’ सुनाएका छन् । काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको चौथोदिन आफ्नो कथा सुनाउन उपस्थित हमालले आफ्नो फिल्मी यात्रासँगै आफ्नो परिवारसँगको कुराहरु पनि साटे । आत्म कथा सुनाउदै गर्दा उनले भन्दै थिए ‘म खासै खुल्दिन , त्यसैले यस्तो कुरा सायद फिल्मकर्मीलाई पनि थाहा छैन ।’ उनले आफ्नो परिवारसँगको सम्बन्धको बारेमा खुलेर बोलेका थिए । राजेशका बुवा कुटनीतिज्ञ थिए । ‘बुवाले बनारसबाट मास्टर्स गर्नुभएको थियो । ममीले पनि पढ्नुभएको थियो । बनारसमै उहाँहरुको प्रेम भयो र पछि विवाह भयो’ राजेशले सुनाए । उनले बुवा २२ वर्षको उमेरमा पद्मोदया हाइस्कुलमा हेडमास्टर भएपछी परिपक्क देखिने स्वभाव बढेको बताए ।

‘उहाँ र म बीच भिन्नता थियो अनि उल्टो तालमेल – म चाहिँ जहिल्यै जवान बन्न खोज्छु । मेरो बुबा चाहिँ पाको देखिन खोज्नुहुन्थ्यो । स्कुलमा आफूलाई पत्याओस् भनेर उहाँ अलिक बुढो हुन चाहनुहुन्थ्यो । उहाँले फुलेको कपाललाई गर्वका साथ देखाउनुभएको थियो’ राजेशले भने । स्कुले जीवन ३/४ देशमा सकेका राजेशले उच्च शिक्षा भने भारतबाटै लिएका थिए । तर , उनि अभिनेता बन्ने लक्ष्य लिएर अगाडी बढे ।

त्यसबेलामा पनि शिक्षा राम्रो भएको र परिवार शिक्षित भएकाले राजेशले राम्रो शिक्षा पाए । साथी र संगत पनि त्यस्तै भयो । त्यसै कारण हुनसक्छ उनले फिल्मनगरी रोजेपछि आफ्नैको साथ् पाएनन् । ‘मेरो साथी सर्कल सबै अर्कै पेशामा थिए त्यसैले यहाँ सपोर्ट आउने कुरै भएँन’ उनले सम्झीए । घरमा बुवार मुमाले पनि राजेशलाइ अन्य काम गर्न सुझाएका थिए । ‘परिवार कलाप्रेमी नभएको हैन तर, नेपाली फिल्ममा भविष्य छैन भनेर उहाँहरुले मलाई सपोर्ट गर्नुहुन्न थियो’ उनले सम्झिए । त्यसपछि केही समय परिवारसँग टाढा भएँ । यद्दपी हमाल सफलताको श्रेय परिवारलाई नै दिन्छन ।

उनलाई एउटै दुखेसो छ , उनले बुवासँग संवाद गर्न पाएनन । जब उनि फिल्ममा आए त्यसपछि बुवासँग राम्रोसँग कुरा भएन , त्यसमाथि उनि फिल्ममा व्यस्त । उनको बुवाको पहिलो पोस्टिङ र अन्तिम पोस्टिङ पनि पाकिस्तान नै भयो । र पाकिस्तानमै हुँदा असामयिक निधन भयो । तात्कालिन पाकिस्तानी राष्ट्रपतिलाई भेटेर नेपाल एम्बेसी जाने क्रममा हमालका पिताको निधन भएको थियो ।

‘काम गरिरहेको छु र एकदिन अवश्य मनाउनेछु भन्ने थियो तर अचानक उँहाको निधनको खबर आयो’ हमालले भावुक हुँदै सुनाए । उनले बुवालाई ‘गुड बाई’ पनि भन्न पाएका थिएनन् । ‘त्यतिबेला फिल्मको भविष्य यस्तो थिएन त्यसैले उँहा केहि रुष्ट हुनुहुन्थ्यो त्यसैले अन्तिम पटक पाकिस्तान जाँदा मलाई नभेटी जानुभयो’ राजेश त्यतिबेला ‘गोपी कृष्ण’ को छायाँकनमा थिए । उनले बावु र छोरा बीच अव्यक्त प्रेम भएपनि त्यसलाई व्यक्त गर्ने समय नमिलेको संकेत गरे । ‘समय छ भन्ने थियो तर समय त कहाँ रहेछ र ?’ उनले भने ,’सफल हुँदै थिए र एक दिन त आउला जब हाम्रो माया व्यक्त होला भन्ने लागेको थियो तर त्यो सम्भव भएन ।’

करिब दुई घन्टा आफ्नो कथा सुनाएका हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको बिश्रामको कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा ज्यादा समय अभिनयमा बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । उनको तर्क थियो ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरें भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहानेलाई हतोत्साही गर्नु सही थिएन ।’

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आयोजना गरेको फेस्टिभलको चौथो दिन हमालको सेसनसँगै विभिन्न फिल्म प्रदर्शन भएका थिए । आइतबार नै लोकार्नो फिल्म फेस्टिभलमा निर्देशक जाओ पाउलोले फेस्टिभलका तौरतरिकाको बारेमा जानकारी बाँडेका थिए भने नेपाली फिल्म बासुदेव देखाएर फिल्ममा संलग्न कलाकार तथा लेखकसँग अन्तरक्रिया गरिएको थियो । चौथो दिनको अन्तिम फिल्मको रुपमा सहारा शर्मा निर्देशित ‘मिस बर्दिया’ देखाइएको थियो । ५ दिनसम्म चलेको फेस्टिभल सोमबार समापन हुँदैछ ।

कमेन्ट गर्नुहोस्