फिल्म । अभिनेता राजेश हमालले आफ्नो अभिनय यात्रा अद्भूत भएको दाबी गरेका छन् । काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको चौथोदिन आफ्नो कथा सुनाउन उपस्थित हमालले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो प्रवेश पछि नै नेपाली फिल्ममा क्रान्ति भएको पनि दाबी गरे । ‘ म जतिबेला फिल्ममा आएँ त्यतिबेलासम्म मुस्किलले दर्जन फिल्म बनेका थिए । तर, पहिलो फिल्म रिलिज भएपछि मैले त्यसयताका १२ वर्ष लगातार १२ देखि १४ घन्टासम्म काम गरें,‘ यो क्रममा मैले मात्र काम गरिन,सँगै अन्य कलाकार र प्राविधिकले पनि काम गरे । मेरो प्रवेशपछि अरु त नभनौं मिनी रिभोल्युसन त भयो नै ।’
करिब दुई घन्टा आफ्नो कथा सुनाएका हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको बिश्रामको कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा ज्यादा समयअभिनयमा बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । उनको तर्क थियो ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरें भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहानेलाई हतोत्साही गर्नु सही थिएन ।’
राजेश हमालले आफ्नो जीवनकालमा विभिन्न भूमिका निर्वाह गरे । धनी मानिस देखि भरियासम्मको भूमिका निर्वाह गरे । धेरैलाई उनले ति सबै भूमिका कसरी निर्वाह गरे होलान् भन्ने जिज्ञाषा थियो । हमालले आफ्नो कथा बताउने क्रममा यसको पनि गुह्य बताइदिए । ‘ आजभोलि जसको भूमिका गर्ने हो उसको बारेमा हप्ता दस दिन अध्ययन गर्ने प्रचलन छ । तर, मैले कहिलै पनि त्यसो गरिँन । मलाई के लाग्छ भने जब तपाईं आफूलाई उसको जुत्तामा उभिएर उसको अवस्था अनुभूत गर्न सक्नुहुन्छ तपाईं जस्तो रोल पनि निर्वाह गर्न सक्नु हुन्छ,’ हमालले भने ।
पछिल्लो तीन वर्षयता भने हमाल चलचित्र खेल्न डराइरहेका छन् । उनी पर्दामा नदेखिएको तीनवर्षभन्दा बढी भइसक्यो । के हमालले अभिनय छाड्न लागेका हुन् ? हमालले नयाँ शैलीमा आउन चाहेकाले बीचको समयमा अध्ययन गरिरहेको बताए । ‘चलचित्रमा अभिनय गर्ने धोको पुग्यो भन्ने लागेको छैन,’हमालले भने, ‘नयाँ समयमा कसरी आउने भन्ने सोचिरहेको छ । आफैं फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेको छ् ।’
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आयोजना गरेको फेस्टिभलको चौथो दिन हमालको सेसनसँगै विभिन्न फिल्म प्रदर्शन भएका थिए । आइतबार नै लोकार्नो फिल्म फेस्टिभलमा निर्देशक जाओ पाउलोले फेस्टिभलका तौरतरिकाको बारेमा जानकारी बाँडेका थिए भने नेपाली फिल्म बासुदेव देखाएर फिल्ममा संलग्न कलाकार तथा लेखकसँग अन्तक्र्रिया गरिएको थियो । चौथो दिनको अन्तिम फिल्मको रुपमा सहारा शर्मा निर्देशित मिस बर्दिया देखाइएको थियो । ५ दिनसम्म चलेको फेस्टिभल सोमबार समापन हुँदैछ ।












