फिल्म । आउँदो फागुन ३० बाट प्रदर्शनमा आउने फिल्म ‘नीरफुल’ को पहिलो गीत सार्वजनिक गरिएको छ । प्रेम दिवसको अवसर पारेर ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो । गीतमा कुनै एक डान्स बारमा अभिनेत्री रेखा थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखाले यसमा बार गायककै भूमिका निर्वाह गरेकी हुन् । साथै फिल्मकी अर्की अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ ।
सार्वजनिक गीतमा सँगीत अर्जुन पोखरेल , स्वर दुर्गा खरेलको रहेको छ भने यसको शब्द फिल्मकै निर्देशक फुलमान वलले नै लेखेका हुन् । ‘गीतले फिल्म भित्रको कथाको एउटा पाटो बोकेको छ’ निर्देशक वल भन्छन् ,’आईटम गीत भन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीतको रुपमा यसलाई तयार गरेका हौँ ।’फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए ।
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् । निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ रहेका छन् ।










