फिल्म । निर्माण समय देखि नै फिल्म ‘आरआरआर’ पर्खाइमा छ । बाहुबली सिरिजपछि निर्देशक एसएस राजमौलीले निर्देशन गरेको फिल्म भएकोले पनि पर्खाई हुनु स्वाभाविक नै हो । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्व भर चर्चामा रहेका निर्देशक राजमौलीले नयाँ फिल्म आरआरआर अर्थात् ट्रिपल आरमा जुनियर एन्टीआर र राम चरणलाई लिएर काम गरिरहेका छन् ।
पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । सायद यसैकारण यसफिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ । बलिउडका सिंघम अजयसंगै आलिया भट्ट फिल्ममा देखिने भएका छन् । यी दुइ बलिउड फिल्ममा नभई साउथ इण्डियन फिल्म ‘आरआरआर’ मा सँगै देखिन लागेका हुन् ।
अजय र आलियाले सँगै स्क्रिन शेयर गर्ने खुसि त फ्यानलाई छ नै साथै फिल्मलाई एसएस राजमौलीले निर्देशन गरिरहेका छन् , जो आफ्नो कामले परिचित छन् । तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘आरआरआर’ को रिलिज डेट सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्म आउँदो वर्षको जनवरी ८ मा रिलिज गर्ने तयारी थालेको छ । फिल्मको रिलिज डेट सार्वजनिक भएसंगै यो झनै प्रतिक्षित बनेको छ । (एजेन्सी)












