फिल्म । पछिल्लो समय फिल्म निर्माणसँगै यसको प्रदर्शनले पनि चर्चा पाउने गर्छ । विशेष गरेर विदाको समयमा पारेर निर्माताहरु फिल्म रिलिज गर्न तत्पर देखिन्छन । यस्तो गर्दा सामान्य डेटको तुलनामा फिल्मको व्यापार बढी नै छ । यहिँ मध्यको एक डेट हो , नयाँ वर्ष । भनिन्छ यो डेटमा पनि विशेष गरेर वैशाख १ मा नेपाली फिल्मले दर्शक पाउछन । अर्थात् हल खाली हुदैनन् । पाएको शो अधिकांस भरिन्छन । यसैले गर्दा पनि यो डेटमा आँखा नलगाउने निर्माता कमै हुन्छन् , तर रिलिज केहि मात्र हुन्छ ।
यसवर्ष पनि नयाँ वर्षको लागि प्रेम गीत ३ र चपली हाइट ३ ले प्रदर्शन डेट घोषणा गरिसकेका छन् । यसमै थपिने भएको छ , माइकल अधिकारी । सौगात मल्ल र सृष्टी श्रेष्ठ प्रेममा परेसंगै फिल्ममा जोडी बनेर देखि क्रम बढ्दो छ । यसै जोडीले नयाँ फिल्म ‘माइकल अधिकारी’ मा पनि निरन्तरता पाएको छ । गोपीकृष्ण मुभिजले निर्माण गर्ने यो फिल्म सेरोगेसी (भाडाको काख) मुद्दामा बन्ने छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र जीजीएले वितरण गर्नेछ भने उपत्यका बाहिर श्रीकृष्ण फिल्म्सले ।
वितरणको जिम्मा लगाएसँगै फिल्म चैत्रको अन्तिम साता प्रदर्शनमा ल्याउने कसरतमा निर्माण टिम लागेको छ । आउँदो माघको पहिलो साताबाट छायाँकनमा जाने फिल्मलाई रञ्जित रौनियारले निर्देशन गर्दैछन् भने , कथा पनि उनैले लेखेका हुन् । फिल्म वितरणको जिम्मा पाएको कम्पनि रीच इन्टरटेनमेन्टका करण श्रेष्ठले फिल्म चैत्रको अन्तिम साता रिलिज हुन् लागेको खबरलाई नकार्न सकेनन् । ‘हामीले यसलाई राम्रो डेटमा रिलिज गर्ने तयारी गरेका छौ’ उनले भने ,’हामीलाई उपयुक्त लागेको डेट चैत्र २८ पनि हो ।’
करणले जीजीएसँग मिलेर चैत्र २८ को लागि अनमोल केसीको अभिनय रहने भनिएको ‘धुपौरे’ रिलिज गर्ने तयारी गरिरहेका थिए । तर , उक्त फिल्म अहिले नबन्ने भएपछी उक्त डेटमा ‘माइकल अधिकारी’ ल्याउने तयारी भइरहेको बुझिएको छ । यस फिल्मसंगै गोपीकृष्णले अन्य केहि घोषणा पनि गर्दैछ । पहिलो प्रोजेक्टको रुपमा ‘माइकल अधिकारी’ फ्लोरमा गएपछि अन्य प्रोजेक्ट क्रमश अगाडी बढ्ने छन् । बुझीए अनुसार गोपीकृष्णले एकसाथ ५ फिल्म घोषणा गर्दैछ , जस मध्य पहिलो ‘माइकल अधिकारी’ हो । केहि समय यता फिल्म निर्माण भन्दा पनि वितरणमा सक्रिय गोपीकृष्ण मुभिजले आफ्नो फिल्म ‘गोपीकृष्ण’ सिक्वेल पनि बनाउने तयारी गरिरहेको छ । फिल्ममा निरक पौडेल निर्माताको रुपमा रहेका छन् ।










