‘म प्रशंशक हुँ , प्रतिष्पर्धी होइन्’

फिल्म । हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई , विल्सन विक्रम राई , राजाराम पौडेल ,कमलमणि नेपाल पनि फिचर्ड छन् । गीतमा डिपी खनालको शब्द , शंकर थापा स्माइलको संगीत रहेको छ भने यसलाई कालीप्रसाद बाँस्कोटा र मेलिना राईले गाएका छन् । गीतको भिडियोलाई शंकर विसीले कोरियोग्राफ गरेका हुन् ।

फिल्ममा धुर्मुस र सुन्तलीसंगै विल्सन छन् तर उनीहरुले सिरियल स्टार्ट गर्दाका अन्य कलाकार छैनन् । अर्थात दीपकराज गिरी , दीपाश्री निरौला , जितु नेपाल , दमन रुपाखेती , केदार घिमिरे फिल्ममा छैनन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सुन्तली अर्थात कुञ्जनाले आफुले उल्लेखित कलाकारलाई मिस गरेको बताईन । ‘मैले कमेडी सिकेकै जानेकै उहाहरुबाट हो , त्यसैले मिस नगर्ने कुरा नै भएँन नि’ उनले सोधिएका प्रश्नको जिज्ञाषा मेटाउदै भनिन् । साथै , उनले आफ्नो प्रतिष्प्रर्धा नरहेको समेत प्रस्ट्याइन । ‘ म उँहाहरुको प्रशंशक हुँ , त्यसैले प्रतिष्पर्धा हुने कुरै छैन’ उनले भनिन् । उनले माग्ने बुढाले सिरियल छाडेपछि अगाडी बढ्न नसकेको औल्याउदै आफुहरु एकहुनु र टिम बलियो बन्नुको विकल्प नरहेको बताइन । ‘हामीले सबैलाई माया र सम्मान गर्छौ’उनले भनिन् ,’हाम्रो धरातल एकै हो , त्यसैले हामी एकै हौँ ।’

उनले धुर्मुस अर्थात सिताराम कार्यक्रम आउनु नसकेको कुरालाई समेत प्रस्ट्याइन । ‘धुर्मुसजी रंगशाला निर्माणमा लाग्नु भएको छ अनि म यता टिमसंग फिल्म निकाल्नमा’ उनले भनिन् ,’रंगशाला पनि बन्नु पर्छ अनि फिल्म पनि चल्नु पर्छ अनि मात्र हाम्रो अभियानले सार्थकता पाउछ ।’ उनले फिल्मको मुनाफाबाट १५ प्रतिशत रंगशाला निर्माणमा साथै ५ प्रतिशत कलाकार संघको भवन निर्माणार्थ सहयोग दिने समेत खुलाईन । फिल्म आउँदो फागुन ९ गते सार्वजनिक हुने भएको छ । महाशिवरात्रीलाई लक्षित गर्दै प्रदर्शन हुने फिल्मलाई रामबाबु गुरुङले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मलाई खिचेका हुन् ।

यसै फिल्मबाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यसफिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यसलाई डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । यो फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ ।

कमेन्ट गर्नुहोस्