‘लूटको गुडविलले सधै काम गर्दैन’

फिल्म । नेपाली फिल्म क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा निर्देशक निश्चल बस्नेतले फिल्म ‘लुट’ लिएर आएका थिए । स्क्रिप्टकै चरणमा धेरै निर्माताले नपत्याएका निश्चललाई दर्शकले पत्याए । यतिमात्र होइन उनि ट्रेण्ड नै परिवर्तन गर्ने निर्देशकमा परे । फिल्म रिलिज अगाडी गुमनाम उनि फिल्मले ५१ औ दिन मनाउदासम्म फिल्मनगरीको मात्र होइन युवापुस्ता दर्शकको समेत हिरो बनिसकेका थिए । निर्देशककै रुपमा यतिको चर्चा पाउने कमै फिल्मकर्मी हुन्छन् । तर , निश्चलले त्यो सौभाग्य पाए । डेब्यु फिल्मबाटै स्थापित बनेका निश्चलले त्यसपछि निर्देशनलाई त्यो रुपमा अगाडी बढाउँन सकेनन् । दोस्रो फिल्म ‘टलक जंग भर्सेस टुल्के’ निर्देशन गरेका निश्चलले तेस्रो फिल्म ‘लूट २’ निर्देशन गरे ।

लूटमा देखिएको फरकपनलाई सिक्वेलले अगाडी बढाउन सकेन । फलत उनले यसबीचमा गायन , नृत्य र अभिनयलाई अगाडी बढाए । त्यसैले निश्चललाई मिडिया अगाडी परेको बेला सोधिने प्रश्न हो , नयाँ फिल्म कहिले निर्देशन गर्ने ? के अभिनय र आइटम डान्सलाई नै अगाडी बढाउने हो त ? यो प्रश्नको सामना उनले धेरै नै गर्ने गरेका छन् । यस्तै भयो पछिल्लो एक भेटघाटमा । उनको अभिनय रहेको फिल्म ‘घामड शेरे’ को प्रेस भेटमा निश्चल फिल्म निर्देशनमा नआउनुको केहि तथ्यलाई खुलाए ।

‘मैले गर्ने फिल्म अहिलेको भन्दा केहि फरक होस् भन्ने सोच्छु यसैले हो समय लिएको’ उनले भने । उनि मार्केटमा आएको फिल्मकै लहरमा आफ्नो फिल्म नहोस् भन्ने चाहन्छन । ‘म सँग स्क्रिप्ट र निर्माताको कमि छैन तर के काम जब तपाइलाई आफ्नै कामले सन्तुष्ट पार्दैन’ निश्चल भन्छन् ,’मैले खेल्ने स्टोरी अरुले पाउनु भयो तर मैले निर्देशन गर्ने स्टोरी म अझै खोज्दैछु ।’ उनले आफ्नो टिमले अनुसन्धान गरिरहेको समेत खुलाए । आफुलाई कमसेकम सन्तुष्ट बनाउने फिल्म नपाएसम्म निर्देशनमा नआउने सोच उनको छ । अभिनय त उनले निर्देशनलाई नै सहयोगी बनाउन अगाडी बढाएको बताए । ‘सौख त हो नै साथै मेरो कामलाई सहयोग गर्छ भनेर होमिएको हो नत्र कुनै सोचाइ थिएन’ निश्चल भन्छन् ,’मैले अभिनय गर्छु भनेर कल्पना समेत गरेको थिइन् ।’

तर , उनलाई अनुप बरालले फिटकिरीमा अभिनय गर्न प्रस्ताव गरे । निश्चलले आनाकानी गर्दा पनि अनुपले ‘सिकाउछु’ भने पनि कन्भिन्स भए । ‘अभिनयकै गुरुले तिमि सक्छौ म छु नि ‘ भनेपछी किन पछी हट्ने भनेर निश्चल अभिनयमा आए । उनि कबड्डीको पनि पहिलो रोजाई होइनन् , टिमकै सल्लाहमा उनले अभिनय गरे । तर पछिल्लो समय उनको यो ‘प्यासन’ बनिसकेको छ ।

‘मैले कहिँ कतै साथीभाईको लागि सम्झौता गरे होला तर जहाँ म फिल्म भरि नै छु त्यो बाध्यता होइन’ निश्चलले भने । उनि पछिल्लो समय अभिनयलाइ लिएर सतर्क पनि छन् । किनकी डेब्यु फिल्म ‘लूट’ को गुडविलले धेरै दिन नधान्ने उनलाई थाहा छ । उनले रिलिजको क्रममा रहेको फिल्म ‘घामड शेरे’ मा आफ्नै धर्मपत्नी स्वस्तिमा खड्कासँग स्क्रीन शेयर गरेका छन् ।

फिल्ममा दुइ भेना र सालीको भूमिकामा छन् । फिल्मका निर्देशक हेमराज विसी हुन् । फिल्मको मूलकथा नै निश्चलको वरिपरि घुमेको छ । फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । फिल्म आउँदो कार्तिक ८ मा रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्