दर्शकसँगै कलाकारले हेरे ‘जन्ते बाख्रो’

फिल्म । गत शुक्रबार, जेठ २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्मको निर्माण टोली कलाकारसहित सप्ताहन्तमा दर्शकको राम्रो उपस्थिति देखिएका हलहरूमा पुगेर प्रत्यक्ष प्रतिक्रिया लिएको थियो ।

अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले दर्शकबाट पाएको सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हप्ताका अन्य दिनहरूमा पनि व्यापार राम्रो हुने अपेक्षा निर्माण टोलीको छ । दर्शकसँग साक्षात्कार गर्न हल पुगेका कलाकारहरूसँग सेल्फी खिच्न दर्शकबीच तँछाडमछाड चलेको थियो ।

फिल्म हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको खुलेर प्रशंसा गरेका छन् । साथै, निर्देशक सिमोस सुनुवारको निर्देशकीय पक्ष र मौलिक नेपाली संस्कृतिलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरेको भन्दै निर्माता सन्तोष गौतमको पनि तारिफ गरेका थिए ।

दर्शकको प्रतिक्रियाले उत्साहित भएको कलाकार, निर्माता तथा निर्देशकले बताएका छन् । निर्माता गौतमले भने, ‘हामीले फिल्म राम्रो बनाएको प्रतिक्रिया पाएका छौं । दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ले हाम्रो फिल्मको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौं । हामीले इमान्दारिताका साथ बिना सम्झौता फिल्म निर्माण गरेका थियौं ।’

प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’ले गाउँघरमा हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ पहिले नै लोकप्रिय भइसकेका छन् ।

मुइन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गरेको यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्