उपेन्द्रले भने ‘दलगत राजनीति हावी भयो’

देश । काठमाडौंमा आजबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन सुरु भईसकेको छ । सम्मेलनको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गरेकी हुन् । सम्मेलनको उद्घाटन हुँदै गर्दा संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् ।

संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनले सम्मेलन बहिस्कार गरेका हुन् । अनावश्यक राजनीतिक हस्तक्षेप भएपछि सम्मेलनमा अनुपस्थित भएको उनले बताएका छन् । चुनाव बढ्दो हस्तक्षेपको कारण आफु अनुपस्थित भएको उनको भनाइ छ । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन नहुनेमा जोड दिए ।

विज्ञापन

११–१३ अक्टोबर २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट संस्थापक अध्यक्ष चयन भएका डा. महतोले चुनावमा दलगत राजनीति बढी भएको बताएका छन् । संघका उपाध्यक्षद्वय कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गरेका छन् । संघको होटल हायातमा शुरु सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

कमेन्ट गर्नुहोस्