फिल्म । फिल्म ‘म’ को आइतबारबाट छायांकन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहने फिल्मको ललितपुरको गोदावारीमा अभिनेत्री लामिछाने र डेब्यू व्बाई सन्जोग रसाईलीको शट लिँदै छायांकन सुरु गरिएको हो । यो फिल्ममा बरिष्ठ कलाकार तथा पाइलट विजय लामा, ‘समर लभ’ की अभिनेत्री रेवती क्षेत्री, ‘मेरी मामु’ अभिनेत्री कुसुम गुरुङ्ग, ‘मारुनी’ अभिनेत्री रेवीका गुरुङ्गसँगै अनिल कँडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराईलगायतको पनि अभिनय रहनेछ । फिल्मको क्याप्टेनसिप परिच्छेद सेनले सम्हालेका छन् । उनले यसअघि थुप्रै अवार्डेड लघु फिल्महरु बनाइसकेका छन् ।
‘म’ बाट भने उनले फिचर फिल्म निर्देशन डेब्यू गर्न लागेका हुन् । लामो समयदेखि फिल्मका सम्पुर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो पहिलो फिल्म हो । यो फिल्मसँगै अबदेखि हरेक वर्ष एकेडेमीले फिल्म निर्माण गर्ने र सम्भावना भएका विद्यार्थीहरुलाई अवसर दिने योजना रहेको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी गराए ।
निर्देशक परिच्छेद सेनसँगै ‘म’ का सिनेम्याटोग्राफर तेन्जीन पाल्देन, एडिटर सुवीज्ञ सुन्दर श्रेष्ठलगायत अधिकांश कलाकार र टेक्निसियनहरु एकेडेमीबाटै फिल्म निर्माण पढेका हुन । यही वर्षको अन्त्यतिर प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मलाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन् । आफ्नै विद्यार्थीहरु तथा अन्य कलाकारहरु लिएर एकेडेमीले नै फिल्म बनाउनु आफैंमा महत्त्वका साथ हेरिएको छ ।











