चितवनमा ‘मारुनी’ कन्सर्ट

फिल्म । ‘मारुनी’ युनिट यतिबेला मोफसल टुरमा छ । नेपाली फिल्मको राम्रो कलेक्सन गर्ने मोफसलका विभिन्न सहरलाई लक्षित गर्दै टिम दौडाहामा छन् । इटहरीबाट सुरु गरेको दौडाहा अन्तर्गत टिमले दोस्रो स्टेसनको रुपमा चितवनलाई रोज्यो । चितवनको अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको शहरिया युवापुस्तामा राम्रो क्रेज छ ।

जसलाई बिहीबार साँझ निर्माण टिमले चितवनमा आयोजित कन्सर्टले प्रस्ट्यो । चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारौंको संख्यामा दर्शकको उपस्थिति थियो । कार्यक्रममा अभिनेता पुष्प र अभिनेत्री साम्राज्ञीले फिल्ममा समावेश ‘जाम न माया जाम र सक्दिनँ म बाँच्न’ गीतमा नाच्दा दर्शकले जोडले हुटिङ गरेका थिए ।

दुईसँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए । भने, केही फ्यानहरु पुष्प र साम्राज्ञीलाई पछ्याउँदै होटेलसम्म पुगेका थिए । दुईले कार्यक्रममा बोल्दै फिल्म राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरे । निर्मात्री पुनम गौतमले तीजमा दर्शकलाई ‘मारुनी’ कोसेली लिएर आएको बताइन् । यस्तै, निर्देशक नवल नेपालले आफूले मन छुने फिल्म बनाएको बताए ।

फिल्मको नेपाल टुरमा गायक कृष्ण काफ्ले पनि सहभागी छन् । फिल्ममा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्मातामा छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

कमेन्ट गर्नुहोस्