फिल्म । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘लक्का जवान’ लाई दर्शकले चैत्रको पहिलो साता हेर्न पाउने भएका छन् । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यो फिल्मलाई शिवहरि पौडेलले निर्देशन गर्न लागेका हुन् । केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू फिल्म हो ।
ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् । किरणकै प्रस्तुतिमा तयार फिल्म ‘शत्रु गते’ ले चैत्रको ९ गते रिलिज हुँदा राम्रो व्यापार गरेको थियो । यसैको आधारमा पनि यो समयलाई उपयुक्त मान्दै निर्माण पक्षले ‘लक्का जवान’ लाई चैत्र ७ गते रिलिज गर्ने सोच बनाउदै डेट बुक गरेका छन् ।
फिल्मको सम्पूर्ण काम भनिएकै सेड्युलमा पुरा भए फिल्मलाई दर्शकले सोहि डेटमा हेर्न पाउनेछन् । फिल्ममा किरण केसी , दीलिप रायमाझी , प्रियंका कार्की , सलोन बस्नेत लगायत कलाकारको रुपमा पक्का भइसकेको बुझिएको छ । भाद्रको पहिलो साता देखि फ्लोरमा जाने फिल्मको औपचारिक जानकारी यसैसाता एक कार्यक्रमको आयोजना गर्दै गराईदैछ ।












