‘विदेशी मात्र होइन , स्वदेशी फिल्म पनि अब शुक्रबार मात्र’ अध्यक्ष भट्टराई

फिल्म । केहि समय यता फिल्मको रिलिजको विषयले निकै चर्चा पाइरहेको छ । फिल्म ‘कहिले’ रिलिज गर्ने विषयमा बहस हुन् थालेका छन् । नेपाली फिल्मका निर्माताहरुले यसलाई ‘शुक्रबार’ मात्र रिलिज गर्नु पर्ने अडान लिइरहेका छन् भने हिन्दी फिल्मका वितरकहरु ठुला फिल्म ‘विश्व रिलिज’ संगै नेपालमा चल्न दिनुपर्ने तर्क गरिरहेका छन् । पछिल्लो समय गत वैशाख ४ मा ‘कलंक’ रिलिज नभएपछी ठुलै चर्चा भयो । नेपाली फिल्म शुक्रबार मात्र रिलिज हुने तर, विदेशी बुधबारै आउँदा निर्माताहरु अन्यायमा परेका थिए ।

त्यसपछि विकास बोर्डले शुक्रबार मात्र फिल्म लगाउन गरेको पहललाई फिल्मकर्मीले ‘स्वागत’ गरे । तर , सबैको आँखा बलिउडकै ठुलो फिल्म ‘भारत’ मा अडिएको थियो । यसलाई नेपाल वितरणको जिम्मा लिएका वितरक फिल्म चलाउने तयारी गरिरहदा विकास बोर्ड भने शुक्रबार लगाउन सुझाई रहेको थियो । तर , वितरण संस्था ब्याङ्कटेस ईन्टरटेन्मेन्टले जिल्ला अदालतबाट भारतलाई बुधबारै रिलिज गर्न स्टे अर्डर आएपछि फिल्म जुन ५ मै रिलिज भयो । त्यसपछि बोर्ड अध्यक्ष केशव भट्टराईले यसलाई कानुनी रुपमै हल गर्न तर्फ लागे ।

फलत : बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौँ जिल्ला अदालतले उक्त स्टे अर्डर खारेज गरिदिएको छ । भारत रिलिज गर्न स्टे अर्डर दिएको अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतीका मुद्धाहरु अब अदालतमा नजाने बोर्डले जनाएको छ । ब्याङ्कटेस ईन्टरटेन्मेन्टले आफ्नो स्वार्थका आधारमा एक पक्षिय तरिकाले काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाति राख्दै स्टे अर्डर दिएको बोर्डको स्पष्टिकरण पछि उक्त मुद्धालाई पूर्ण रुपमा कारबाही गर्दै स्टे अर्डर खारेज गरेको हो ।

स्टे अर्डर खारेजसँगै अब सबै फिल्महरु शुक्रवार मात्रै रिलिज हुने बोर्डले जनाएको छ । ‘विदेशी मात्र होइन स्वदेशी फिल्म पनि अब शुक्रबार मात्र रिलिज हुनेछ’ अध्यक्ष भट्टराई भन्छन् ‘हामीले कानुनी हल निकालेका हौ र हाम्रो चाहना एउटा फिल्मले कम्तिमा एकसाता ढुक्क साथ् हल पाउनु पर्छ ।’ उक्त फिल्मले गर्ने व्यापारपछिको कुरा रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्