पुस्तक बन्यो ‘पानीफोटो’

साहित्य । नाटक हुँदै फिल्म बनेको ‘पानीफोटो : पानादेखी पर्दासम्म’ पुस्तकको रुपमा सार्वजनिक भएको छ । तीनै स्वरूपमा तयार गर्नुभएका खगेन्द्र लामिछाने लिखित पुस्तकको उहाँसँग फिल्ममा काम गरेका निर्देशकहरू मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अशोक शर्मा र अभिनेत्रीहरू स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महतले संयुक्त रुपमा लोकार्पण गरे । लेखक लामिछानेले कोरोना भाइरसको कारण भएको बन्दबन्दीमा पुस्तक लेखेको स्मरण गरे । उनले भने,‘फिल्मको काम सकिएर फुर्सद भएको समयमा लकडाउन भएपछि नोट गरेका कुराहरुलाई पुस्तकको स्वरूपमा ल्याए । नेपालीमा आफ्नो माटो सुहाउँदो फिल्म कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको छ । त्यहिँ कारण पनि यस पुस्तकको आवश्यकता महसुश गरे ।’ उनले लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुसँग पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गर्दै आवश्यकता बारे बोलेका थिए । कार्यक्रममा उपस्थित कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको फिल्मप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । ‘पानीफोटोले सम्पूर्ण योग्यता बोक्छ, यसले फिल्म पढ्ने विद्यार्थीहरुलाई ग्य्राजुुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ,’ उनले भने । उनका अनुसार फिल्म बनाउँछु भन्नेले एकपटक पानीफोटो अवश्य पढ्नै पर्छ । प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताए । ‘यो पुस्तक विशेषगरी फिल्ममा रूचि राख्नेहरुका लागि बढी उपयोगी छ । चलचित्र के हो ? चलचित्र निर्माणको योजनादेखि, निर्माण–प्रदर्शनसम्मको यात्राकथालाई यसले जीवन्त रुपमा प्रस्तुत गरेको छ,’ उनले भने, ‘फिल्म अध्ययन गर्नेहरुका लागि त यो ‘पाठ्यपुस्तक’ नै हो । नेपाली वाङ्मयमा यस किसिमका पुस्तक बिरलै आएका छन् ।’ ‘पानीफोटो’ मा नेपालमा १२ वर्ष चलेको माओवादीयुद्धको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको प्रयत्नको कथा हो । यस कथाका लेखक खगेन्द्रले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गरेका थिए । यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा चलचित्रको स्वरुपमा प्रस्तुत गरेका हुन् । चलचित्र ‘पानीफोटो’ गत वर्ष विसं २०७९ साउन १३ मा प्रदर्शन भएको थियो ।
कमेन्ट गर्नुहोस्