फिल्म । नम्रता श्रेष्ठ अभिनित फिल्म ‘जाइरा’ को टिजर सार्वजनिक भएको छ । टिजरमा उनको बदलाको भावलाई दर्साइएको छ । छोटो टिजरमा उनको उदेश्य र फिल्मको कथासारलाई डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले देखाउन खोजेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । प्राय लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ ।
अभिनेत्री नम्रताले फिल्म एउटा मार्सल आर्टिस्टको बदलाको कथामा बनेको बताइन् । ‘पात्रलाई न्याय दिन मैले हर प्रयास गरेकी छु , शारिरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन कपाल पनि काटेकी थिएँ’ नम्रताले भनिन् ‘यो फिल्म एउटा महिला प्रधान एक्सन फिल्म हो , जसलाई न्याय गर्ने कोसिस गरेका छौ ।’
नव-अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडी र नव-अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा फिल्म बनेको हो । फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । भने, द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।











