फिल्म । चलचित्र संघको आयोजनामा राजधानीमा एक दिवसीय चलचित्र उत्सव सम्पन्न भएको छ । राजधानी स्थित कुमारी हलमा सम्पन्न फिल्म उत्सवमा सानो संसार , लुट र छक्का पञ्जा ३ प्रदर्शन गरिएको थियो । नेपाली फिल्मको परिवर्तनसँग विभिन्न रुपमा जोडिएकोले तिन फिल्म प्रदर्शन गरिएको जानकारी संघले गराएको थियो । सानो संसार डिजिटल प्रविधिमा निर्मित दोस्रो फिल्म हो , जसलाई डिसीएन मार्फत रिलिज गरिएको थियो । यसैगरी लुटले घोषणा हुन् लागेको संकटकालको अन्त्य मात्र गरेको थिएन , यसले नेपाली फिल्म बन्ने र कथा भन्ने शैलीलाई नै परिवर्तन गरेको थियो ।
यसै गरि छक्का पञ्जा ३ पछिल्लो समयको व्यावसायिक रेकर्ड कायम गर्न सफल फिल्म हो । यी तिन फिल्मको यस्तै भिन्न महत्व भएकाले प्रदर्शन गरिएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रदीपकुमार उदयले फिल्मकर्मीको लागि यस उत्सवको आयोजना गरिएको बताए । ‘नेपाली फिल्मको परिवर्तनसँग यी फिल्म जोडिएका छन् र तिनै फिल्मले विभिन्न समयको प्रतिनिधित्व पनि गर्छन’ उनले भने ‘फिल्मकर्मीले यी फिल्मलाई हेर्दै मुल्यांकन गर्ने बेला आएको छ ।’ उनले यी तिनै फिल्म भिन्न भिन्न प्रकृतिको रहेको पनि बताए ।
उत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार निर शाहको साथमा ‘छक्का पन्जा ३’को टिम निर्देशक दीपाश्री निरौला , नायिका दीपिका प्रसाईंसँगै निर्देशक दिवाकर भट्टराई , नायिका छुल्ठिम गुरुङ , निर्देशक दिपेन्द्र लामा , निर्देशक योगेश घिमिरे , लेखक प्रदीप भारद्वाज , लेखक सामिप्यराज तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।











