फिल्म । हेमराज विसी निर्देशित नयाँ फिल्म ‘दि ब्रेकअप’ सेन्सर पास भएको छ । मंगलवार गरिएको सेन्सरमा केहि दृश्यलाई हटाउदै सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको हो । अर्थात् अब १६ वर्ष भन्दा मुनिका बालबालिका फिल्म हेर्न अभिभावकको साथमा जानु पर्ने हुन्छ । फिल्ममा आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । अध्ययनका लागि अष्ट्रेलिया पुगेका यी दुई कसरी एकअर्कासँग नजिक हुन्छन् र के कारणले टाढिन्छन् भन्ने फिल्मको मुल कथाको वरपर फिल्म घुमेको छ ।
प्रेम जीवनमा आउने उचारचढावको कथामा फिल्म आधारित रहेको निर्देशक विसीले बताए । फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको हो । आशिरमानले यसअघि ‘ग्याङस्टार ब्लूज’ मा हेमराजसँग काम गरेका थिए । तर, फिल्मले बक्सअफिसमा कमाल गरेन । ‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।










