कराँते भवन निर्माणका लागि यज्ञलालले दिए ४० लाख

जयहोस् । झण्डै दुई दशकदेखि अमेरिकामा बसोबास गरिरहेका पूर्वधावक तथा सफल ब्याबसायि यज्ञलाल श्रेष्ठले पोखराको चाउथेमा निर्मार्णाधिन कराँते स्कुल ट्रेनिङ सेन्टर भवनका लागि ४० लाख रुपैयाँ प्रदान गरेका छन् । गत बर्ष ३० लाख रुपैयाँ दिएका उनले शनिबार एक कार्यक्रमकाबीच १० लाख रुपैयाँको चेक सितोरियो सेइको काइ कराँते संघकी अध्यक्ष सुष्मा गुरुङलाई हस्तान्तरण गरेका हुन् । बालबालिकाले खुला आकाशमुनी पानीमा भिज्दै कराँते प्रशिक्षण लिइरहेको देखेर दुखी भएका पूर्व धावक यज्ञलालले भवन निर्माणका लागि पहल गरेका हुन् । अहिलेसम्म भवन निर्माणको नब्बे प्रतिशत काम सकिएको छ । गण्डकी प्रदेशका सांसद राजीव पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पहारीले यज्ञलालले निकै उदाहरणीय काम गरेको भन्दै तारिफ गरे । सरकारले खेल क्षेत्रलाई प्राथमीकतामा नराखेको उल्लेख गर्दै उनले यज्ञलालजस्ता दानवीरको साथ, सहयोग र हौसलाले देशले कुशल खेलाडी पाइरहेको बताए । भने, ‘समाजका लागि यत्तिको सहयोग गर्नेको नाम त महायज्ञ हुनुपर्छ । उहाँको सोच र सहयोगलाई हामीले गर्व गर्नुपर्छ ।’ पहारीले यज्ञलाललाई दानवीर भन्दै आफुले लगाएको माला खोलेर उनलाई पहिर्याइदिएका थिए । कार्यक्रममा यज्ञलालले आफू समाजसेवा भनेपछि हुरुक्कै हुने गरेको बताउदै भने, ‘म पहिला खेलाडी थिएँ । खेलकै माध्यमबाट अमेरिका पुगेर मेडल जितेको हुँ । त्यसैले आफ्नो देशमा खेलकुदको बिकास होस् भन्ने चाहना मेरो छ । त्यसकारण आफूले सकेको सहयोग गर्छु ।’ उनले भबिष्यमा पनि सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए । सोही कार्यक्रममा उनले खेलकुद पत्रकार मन्च कास्कीलाई दुई सय डलर सहयोग गरेका थिए । कार्यक्रममा काठमाडौबाट गएका लायन्स क्लव ३२५ बीका डिस्ट्रिक को–अर्डिनेटर मोहन कृष्ण श्रेष्ठ, लायन्स क्लव काष्ठमाण्डप क्यालिफोर्नीयाका अध्यक्ष नारायण सोनामी,शेयर एण्ड केयर फाउन्डेशनका प्रमुख रमेश खड्का, खेलकुद पत्रकार मन्च काश्कीका अध्यक्ष केशब पाठकलगायतले नेपालमा खेदकुदको बिकासमा नीजी क्षेत्रको साथ सहयोग र यज्ञलालले गरिरहेको सेवाको बारेमा आफना भनाइ ब्यक्त गरेका थिए । सन् २००२ मा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको क्यालिफोर्निया वेस्र्टन स्टेटमा एक सय माइल दौडमा प्रतिस्पर्धा गरेका धावक यज्ञलालले २२ घण्टा ३७ मिनेटमा दौड पूरा गरि रजत पदक जितेका थिए । उनी अमेरिकामा दौडमा रजत पदक जित्ने एक मात्र नेपाली हुन् । आफ्नो जन्मभूमिका लागि केही गरौ भन्ने उद्धेश्यले यज्ञलालले सन् २००६ मा अमेरिकामा हिमालयन फाउन्डेसन कर्प स्थापना गरेका हुन् । उनले फाउन्डेशनमार्फत थुप्रै सामाजीक कार्य गरेका छन् । अमेरिकामा केटिएम ग्रुप एलएलसी, काठमाडौ–सन फ्रान्सिस्को क्राफ्टस् इन, गोल्डेन स्टेट मुभी मेकर र सन फ्रान्सिस्को होलसेल इन गरी चार वटा कम्पनीका मालिक यज्ञलालले गत अगस्तमा सन फ्रान्सिस्कोमा नेपाली समाज घर निर्माणका लागि आयोजीत महायज्ञमा नीजि तर्फबाट ५५ हजार ५ सय ५५ डलर अर्थात झण्डै ६३ लाख रुपैया सहयोग प्रदान गरेका थिए । सन फ्रान्सिस्कोमा सफल ब्याबसायिका रुपमा कहलिएका यज्ञलाल हिमालय फाउन्डेसनका साथै आफ्नो ब्यक्तिगत तर्फबाट समेत समाजसेवामा सँधै तल्लीन छन् । भन्छन, ‘आफू मात्र सुखी हुने होइन, म सबै नेपालीको मुहारमा खुशी देख्न चाहन्छु । त्यसैले आफूले सकेको सहयोग गर्न सँधै तयार छु ।’ हिमालय फाउन्डेशनमार्फत आफूहरु समाजसेवाका थुप्रै कार्य गर्ने योजनामा रहेको उनी बताउँछन् । हिमालयन फाउन्डेसनमार्फत उनले आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकबाट समाजसेवा सुरु गरेका हुन् । सुरुमा उनले मेलम्चीस्थित आफू पढेको स्कुल श्री बालसुधार माबिमा पर्खाल लगाउनेदेखि लिएर कम्प्युटर तथा बिद्यार्थीलाई आबश्यक पर्ने शैक्षिक सामाग्रीहरुको ब्यबस्था गरेका थिए । त्यसका साथै उनले जिल्लाकै ज्योति भञ्ज्याङ आधारभूत माबिलाई करिब ५० लाख रुपैया बराबरको सहयोग प्रदान गरेका थिए । त्यसैगरी, उनले ०७२ को महाभुकम्पमा बिभिन्न जिल्लाका पीडितलाई झण्डै ५० लाख रुपैयाँ बढीको सहयोग उपलब्ध गराएका थिए ।
कमेन्ट गर्नुहोस्