खेलकुद । स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन युरो २०२० को सेमिफाइनलमा पुगेको छ । १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
सुरुआतदेखि नै स्वीट्जरल्यान्डको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको स्पेनले आठौं मिनेटमा डेनिस जकारियाले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको थियो ।स्पेनले पाएको कर्नरमार्फत् आएको क्रसमा डिफेन्डर जोर्डी अल्बाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार जकारियाको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । पहिलो हाफमा १-० ले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक शैली अपनाएको थियो । बल पोसेसनमा हाबी बनेको स्पेनमाथि काउन्टर अट्याकको फाइदा उठाउँदै स्वीट्जरल्यान्डले ६८औं मिनेटमा आजका कप्तान शेर्डेन शकिरीको गोलसँगै बराबरी गरेको थियो ।
७७ मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित हुन पुग्यो । फ्रेउलरलाई रेफ्रीले सिधा रातो कार्ड दिँदै मैदान बाहिर पठाए । स्पेनका जेराल्ड मोरेनोलाई फल गरेपछि उनलाई रातो कार्ड दिइएको थियो । १० जना खेलाडीमा सीमित भएको स्वीट्जरल्यान्डले ९० मिनेटसम्म स्पेनलाई रोकेर अतिरिक्त समयमा लगेको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।
स्पेनका लागि पहिलो पेनाल्टी प्रहार गरेका कप्तान सर्जियो बुस्केटको प्रहार सफल हुन सकेन । उनको प्रहार पोस्टमा लागेको थियो। स्विट्जरल्यान्डका फाबियन स्चारको प्राहरलाई स्पेनका गोलकिपर उनइ सिमोनले विफल पारे। लगत्तै स्पेनका रोद्रीको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर सोमरले विफल पारेका थिए। स्विट्जरल्यान्डले फेरि अर्को पेनाल्टी मिस गर्यो। एकान्जीको प्रहारलाई स्पेनिस गोलकिपरले रोकेका थिए। लगातार तीन पेनाल्टी मिस गर्ने क्रममा स्विट्जरल्यान्डका रुबेन भर्गासको प्रहार आकासियो।
पेनाल्टी सुटआउटमा स्पेनका ड्यानी ओल्मो, मोरेनो र ओयार्जाबालले गोल गरे । स्विट्जरल्यान्डका लागि भने पहिलो पेनाल्टी हानेका गाभ्रानोभिकले मात्र गोल गर्न सके । स्पेनले अब आगामी मंगलबार इटालीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। (एजेन्सी)








