भारतमा निःशुल्क खोप दिइने

विदेश । भारतमा सरकारले पहिलो चरणमा ३ करोड कोरोना भाइरस विरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाएको छ । भारतका स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले शनिबार राजधानी नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरूलाई खोप लगाउने जनाए । भारत सरकारले यसअघि नै आगामी जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । यस्तै , दिल्ली सरकारले पनि सबै दिल्लीवासीलाई खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार नै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले त्यस्तो घोषणा गरेका हुन् ।

भारतमा दुईवटा कोरोना खोपको अनुमति प्रक्रिया अन्तिम चरणमा छ । शनिबार मात्र हैदरबादको कम्पनी भारत बायोटकद्वारा उत्पादन गरिएको कोभिड खोप कोभ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले शनिबार साँझ त्यस्तो सिफारिस गरेको हो । यो खोप भारतमै बायोटक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । यसअघि शुक्रबार मात्रै समितिले इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित कोभिसिल्ड खोपलाई पनि आपत्कालीन प्रयोगलाई सिफारिस गरेको थियो । कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्