फिल्म । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो। शुभमुहूर्तमा फिल्मका अधिकांश कलाकारको उपस्थिति रहेको थियो। आजदेखि छायांकन सुरु भएको फिल्मको पाँचखाल, पनौती र काठमाडौँलगायत स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।
छायांकन सुरु भएसँगै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ। ‘हाम्रो फिल्म ‘म मदनकृष्ण’ चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ। हामीले यसअघि ‘अञ्जिला’लाई जसरी दर्शकले रुचाउनुभयो, त्यस्तै यो फिल्मलाई पनि उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ’, निर्देशक मिलन चाम्सले भने।
मदनकृष्ण श्रेष्ठजस्तो नेपाली कला क्षेत्रको स्थापित व्यक्तित्वको जीवनमा संघर्ष, सफलता र अनुभवको लामो यात्रा रहेकाले ‘म मदनकृष्ण’ उत्कृष्ट फिल्म बन्नेमा आफ्नो टिम विश्वस्त रहेको चाम्सले बताए।
फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। बायोपिकको प्रमुख भूमिकामा केकी अधिकारी देखिनेछिन्। उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।
अरुण क्षेत्री हरिवंश आचार्यको भूमिकामा देखिनेछन्। हरिवंश मदनकृष्ण श्रेष्ठका लामो समयदेखिका कलायात्राका सहयात्री हुन्। उनीहरूको जोडीलाई ‘मह जोडी’का रूपमा चिनिन्छ।
अरुण क्षेत्रीको जोडीका रूपमा वर्षा राउत देखिनेछिन्। उनले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन्। मदनकृष्ण श्रेष्ठको जीवनका सुख, दुःख, संघर्ष तथा आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक फिल्मको निर्देशन मिलन चाम्सले गरिरहेका छन्। उनले गत वर्ष राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित बायोपिक फिल्म ‘अञ्जिला’ निर्देशन गरेका थिए।
‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतका विषय समेटिनेछ।फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने बायोपिक ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन्। फिल्मलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछन्।










