सङ्गीत । अमेरिकाको सांगीतिक टुरमा रहेको ब्यान्ड कन्दराले बाढी प्रभावितका लागि २० लाख ६० हजार ९ सय रुपैयाँ सहयोग रकम संकलन गरेको छ।अमेरिकाको एटलान्टामा शुक्रबार आयोजित सांगीतिक कार्यक्रमलाई कन्दराले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धताका रूपमा प्रस्तुत गरेको थियो।
सोही कार्यक्रममार्फत उक्त रकम संकलन भएको ब्यान्डले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। कन्दराले अत्यन्त विषम परिस्थिति र अन्योलताका बीच पनि कार्यक्रममार्फत सहयोग, साथ र सद्भाव प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
ब्यान्डका अनुसार संकलित सम्पूर्ण २० लाख ६० हजार ९ सय रुपैयाँ सोमबार एक कार्यक्रममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिनेछ।
गत ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म दुईमहिने अमेरिका टुरमा रहेको कन्दराले बोस्टनबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेको थियो। ‘रिदम अफ चेन्ज’ नाम दिइएको टुरअन्तर्गत ब्यान्डले अमेरिकाका विभिन्न सहरमा सांगीतिक कार्यक्रम गरिरहेको छ।











