उपासना र कुन्दनलाई लिएर ‘भिडियोटेप’ बन्दै

फिल्म । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ । ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा निर्माण हुने फिल्मको घोषणा गरिएको हो ।

हरर जनरामा निर्माण हुन लागेको यो फिल्मको छायांकन आगामी भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३० दिनमा सक्ने लक्ष्य राखिएको छ ।

फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा रहनेछन् । त्यस्तै, अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

फिल्ममा वशिष्ट प्रधान डीओपीका रूपमा रहनेछन् भने प्रोडक्सन म्यानेजरमा ईश्वर घिमिरे छन् । महेश बरालले मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् ।

कार्यक्रममा निर्देशक ओविदले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको बताए। त्यसैले आफ्नो डेब्यु फिल्ममा पनि यही जनरालाई रोजेको उनको भनाइ छ।

‘म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले आफ्नो डेब्यु फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक विषयमा आधारित छ। कुनै पनि वास्तविक घटनासँग मिल्दैन’, उनले भने।

अभिनेत्री उपासना सिंह ठकुरीले फिल्मका विषयमा एक वर्षअघिदेखि नै कुराकानी भइरहेको बताइन् । उनले कथावस्तु आफूलाई निकै राम्रो लागेको र छायांकनमा जान उत्साहित रहेको बताइन् ।

‘एक वर्षअघिदेखि नै यो फिल्मका विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै राम्रो छ। अब हामी फिल्मको छायांकनमा जाँदैछौँ। एकदमै उत्साहित छु’, उनले भनिन्।

नव-अभिनेता कुन्दन मान शाक्यले पनि फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए। निर्माण पक्षका अनुसार फिल्म करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण हुनेछ। कार्यक्रममा एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ र सहयोग गर्न सबैसँग आग्रह गरे।

कमेन्ट गर्नुहोस्