‘सुपर कमेडी लिग’ मा हमाल बने ‘प्रेसिडेन्ट’

टिभी । नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने शोको घोषणा ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो ।

हास्य-व्यङ्ग्यमा आधारित यस रियालिटी शोमा राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन् । चर्चित कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन् ।

शोका लागि पाँच सहरमा अडिसन आयोजना गरिने भएको छ । जसअनुसार २०८३ साउन २९ गते दमकस्थित कदम थिएटर, साउन ३१ गते नारायणगढस्थित राइनो वाटर होटल, भदौ २ गते नेपालगन्जस्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरास्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ।

अडिसनबाट ३२ जना प्रतिस्पर्धी छनोट गरिनेछ। उनीहरूलाई चार समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहमा आठ जना रहनेछन्। चार समूहको नेतृत्व चार जना क्याप्टेनले गर्नेछन्।

अडिसनमा सहभागी हुन नपाएका तथा नेपालबाहिर रहेका नेपालीभाषी इच्छुक प्रतिभाले डिजिटल अडिसनमार्फत पनि सहभागिता जनाउन सक्नेछन्। त्यसका लागि आफ्नो भिडियो सामग्री इमेल वा नम्बरमार्फत सम्पर्क गरेर पठाउन सकिने निर्माण पक्षले जनाएको छ।

‘सुपर कमेडी लिग’ समूहमा आधारित प्रतिस्पर्धात्मक ढाँचामा निर्माण हुनेछ। एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकताअनुसार सोभन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्। पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी (ड्रामा र कमेडी) शैलीमा तयार गरिनेछ।

कार्यक्रमको उद्देश्य परम्परागत रूपमा कमेडियन खोज्नु मात्र नभई कमेडी एक्टमा प्रभावकारी प्रस्तुति दिन सक्ने उत्कृष्ट कलाकारको खोजी गर्नु रहेको निर्देशक एलिन श्रेष्ठले बताए। प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम निर्माण गर्न लागिएको उनको भनाइ छ।

नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा दुई दशकभन्दा बढी अनुभव बटुलेका श्रेष्ठले ‘नेपाल आइडल’, ‘सारेगमप लिटिल च्याम्प्स’, ‘बुगी वुगी’, ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शोको निर्देशन गरिसकेका छन्।

श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। कार्यक्रमको टेलिभिजन प्रसारण नेपालको राष्ट्रिय टेलिभिजनबाट हुने जनाइएको छ। यसको डिजिटल प्रसारण ओएसआरमार्फत हुनेछ भने कार्यक्रमका पर्दापछाडिका सामग्री सारङ्गी मिडियामार्फत प्रसारण गरिनेछ।

निर्माण पक्षका अनुसार कार्यक्रमको नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुनेछ। विशुद्ध पारिवारिक मनोरञ्जनात्मक प्रकृतिको हुने शोले नेपाली दर्शकलाई हास्य प्रस्तुतिको नयाँ शैलीमार्फत मनोरञ्जन प्रदान गर्ने निर्देशक श्रेष्ठले विश्वास व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्