सङ्गीत । गायिका आगन्तुक खरेलले संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा ११ वर्षदेखि सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ को सेवा अब काठमाडौंमा पनि विस्तार गरेकी छन् । काठमाडौं महानगरपालिका–३१, शंखमूलस्थित बागमती पुल नजिक रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भवनको तेस्रो तलामा सलुन सञ्चालनमा आएको हो।
आइतबार आयोजित कार्यक्रममा खरेलकी छोरी आँचल पुनले रिबन काटेर सलुनको उद्घाटन गरिन्। कार्यक्रममा सांगीतिक क्षेत्रका विभिन्न कलाकार तथा सेलिब्रेटीहरूको पनि उपस्थिति रहेको थियो।
सञ्चालिका आगन्तुक खरेलका अनुसार ‘प्रीटि सलुन’ले महिलाका लागि आवश्यक सम्पूर्ण सौन्दर्य तथा स्किन केयर सेवा एउटै स्थानबाट उपलब्ध गराउनेछ। गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गरिने उनको भनाइ छ।
सलुनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट, ब्राइडल मेकओभर, हाइड्रा फेशियल, लेजर ट्रीटमेन्टलगायत अत्याधुनिक ब्युटी तथा स्किन केयर सेवा उपलब्ध छन्। साथै, छालासम्बन्धी समस्याका लागि अनुभवी चिकित्सकको परामर्श तथा आवश्यक उपचारको व्यवस्था पनि गरिएको खरेलले जानकारी दिइन्।
अन्तर्राष्ट्रियस्तरका स्किन केयर ब्रान्डका उत्पादन प्रयोग गरिने उल्लेख गर्दै खरेलले सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्ने लक्ष्यका साथ आबुधाबीको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गरिएको बताइन्।










