‘लालीबजार’ हेर्न परिवार नै हलमा

फिल्म । प्रदर्शनरत ‘लालीबजार’ले पारिवारिक दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथामा आधारित फिल्म भएकाले सुरुवातमा दर्शकमाझ फिल्ममा उत्ताउला वा भड्किला दृश्य तथा संवाद हुनसक्ने अनुमान गरिएता पनि सेन्सर बोर्डले फिल्मलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिएपछि बालबालिकादेखि वृद्धसम्मले हेर्न मिल्ने पारिवारिक फिल्मका रूपमा स्थापित भईसकेको छ ।

फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक भएपछि उठेका जिज्ञासाको जवाफ दर्शकले नै दिएको छ । अहिले हलहरूमा एउटै परिवारका तीन पुस्तासम्म एकसाथ फिल्म हेर्न पुगेका दृश्य देखिन थालेका छन् । कतिपय आमाबुबा आफ्ना छोराछोरीसँग फिल्म हेर्न पुगेका छन् भने कतिपय छोरीहरूले आफ्नी आमालाई लिएर हल पुगेका छन् । निर्माण पक्षका अनुसार परिवारका पाँचदेखि १७ जनासम्म सदस्य एकैसाथ फिल्म हेर्न आउने क्रम बढेको छ ।

फिल्ममा आमाको भूमिकामा रहेकी स्वस्तिमा खड्काको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् । छोरीलाई शिक्षा दिलाउन उनले गरेको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको भन्दै प्रशंसा भइरहेको छ । फिल्मले सन्तानका लागि आमाले जुनसुकै संघर्ष गर्न सक्ने सन्देश दिएको दर्शकको प्रतिक्रिया छ । फिल्ममा स्वस्तिमासँगै समाइरा थापा, रवीन्द्रसिंह बानियाँ, अभयराज बराल, विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनयले पनि दर्शकको ध्यान खिचेको छ ।

विशाल देवकोटाले निर्वाह गरेको ‘नारायण’ पात्रलाई दर्शकले विशेष रूपमा मन पराएका छन् । हल भ्रमणका क्रममा दर्शकले उनलाई पात्रकै नामले सम्बोधन गर्ने गरेका छन् । यस्तै, प्रशंसा सुवेदीले निर्वाह गरेको ‘महारानी’ पात्रलाई पनि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले प्रदर्शनको छैटौं दिन बुधबारसम्म देशभरबाट २ करोड ४० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । निर्माता खत्रीले सुरुवाती विवाद र आलोचनाका बाबजुद फिल्मको व्यापार निरन्तर बढिरहेको बताए । उनका अनुसार पहिलो सप्ताहन्तभन्दा पछिल्ला दिनमा शो संख्या, अकुपेन्सी र कमाइमा वृद्धि भएको छ ।

उनले भने, ‘सुरुवातभन्दा पछिल्ला दिनमा कमाइ दोब्बरजस्तै भएको छ । दर्शकको संख्या बढ्दो क्रममा छ ।’ निर्माण पक्षका अनुसार शुक्रबार ९ देखि १० हजार दर्शकले फिल्म हेरेका थिए । दोस्रो दिन १६ हजार, मंगलबार १७ हजार र बुधबार २१ हजार दर्शक पुगेको दाबी गरिएको छ ।

निर्देशक तथा लेखक यम थापाले फिल्मबारे फैलाइएको भ्रम फिल्म हेरेपछि हट्ने बताए । उनले ‘लालीबजार’ पूर्ण रूपमा परिवारसँग बसेर हेर्न मिल्ने फिल्म भएको उल्लेख गरे । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभयराज बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरी लगायत कलाकारको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका हुन् । विशाल थिएटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताका रूपमा परिचित छिन् । फिल्मको पटकथा र संवाद निर्देशक थापा तथा प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन् ।

कमेन्ट गर्नुहोस्