फिल्म । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत फिल्मको कथासार झल्काउने उक्त गीत सार्वजनिक गरिएको हो । संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर रहेको छ। दुवै नेपाल आइडलका विजेता हुन्। गंगाले यसै फिल्ममार्फत नेपाली फिल्ममा पार्श्व गायनमा डेब्यु गरेकी छन्। गीतले दर्शकमाझ फिल्मप्रति उत्सुकता जगाएको निर्माण पक्षले जनाएको छ।
पतिपत्नीबीचको प्रेमकथामा आधारित गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी नवविवाहित जोडीका रूपमा देखिएका छन्। फिल्मको कथाअनुसार निर्माण गरिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। भिडियोमा बिहानको पूजापाठदेखि खेतबारीका कामसम्मका दृश्य समेटिएका छन्, जसले उनीहरूको प्रेमिल दैनिकी प्रस्तुत गर्छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन्। फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दीक्षित अर्याल, आरव बराल र सुपला सापकोटालगायतको अभिनय रहेको छ।
निर्माण पक्षका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पक्षलाई उजागर गर्ने प्रयास गरेको छ। फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
प्रदीप भारद्वाजको कथा रहेको फिल्मको छायांकन चिन्तन राजभण्डारीले गरेका हुन्। फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत, कविराज गहतराजको नृत्य निर्देशन, प्रकाश हमाल प्रोडक्सन हेड, बनिश शाह सम्पादन सुपरभाइजर तथा विपिन मल्ल सम्पादक रहेका छन्। असीम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी हुन्।











