फिल्म । नेपाली फिल्म ‘बोक्सीको घर’ मार्फत बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘स्टेशन’को निर्माण कार्य औपचारिक रूपमा सुरु गरेकी छन् । सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गर्दै निर्माण कार्य प्रारम्भ गरेकी हुन् ।
विसं २०८१ सालको सफल फिल्म ‘बोक्सीको घर’पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छन् । केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशन सुलक्षण भारतीले गर्नेछन् । फिल्मको कथा पनि भारतीकै रहेको छ भने निर्माणमा बद्री अधिकारी संलग्न छन् ।
फिल्मको मुहूर्त भए पनि यसमा अभिनय गर्ने कलाकारबारे निर्माण पक्षले हालसम्म खुलाएको छैन । मुख्य कलाकारहरूको नाम गोप्य राख्दै निर्माण टिमले दर्शकमाझ उत्सुकता कायम राखेको छ । केकी अधिकारी स्वयं फिल्ममा अभिनय गर्ने वा केवल निर्मात्रीका रूपमा रहने भन्ने विषय पनि अझै स्पष्ट भइसकेको छैन ।
आगामी तेस्रो सातादेखि छायाङ्कन सुरु गर्ने तयारी गरिएको यस फिल्मलाई भदौ १९ गते देशभर प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ । ‘बोक्सीको घर’जस्तो सामाजिक तथा गम्भीर विषयवस्तुमा आधारित फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि ‘स्टेशन’लाई पनि प्रतिक्षित फिल्मका रूपमा हेरिएको छ ।











