निफका प्रि-इभेन्ट कार्यक्रम सम्पन्न

फिल्म । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गतका सबै प्रि-इभेन्ट कार्यक्रम सम्पन्न भएका छन् । गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ आयोजित ‘सर्ट फिल्म साँझ’ कार्यक्रमसँगै प्रि–इभेन्ट चरण पूरा भएको हो। कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ प्रदर्शन गरिएको थियो।

प्रदर्शनपछि दर्शकले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित फिल्म मेकरहरूले दिएका थिए। यसअघि निफले ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा अन्तर्क्रियात्मक कार्यक्रम पनि आयोजना गरेको थियो।

निफका अध्यक्ष केपी पाठकका अनुसार अब महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। “प्रि–इभेन्ट सफलतापूर्वक सम्पन्न भयो। अब चैत १९ गतेबाट सुरु हुने महोत्सवका लागि तयार छौँ,” उनले बताए।

यस संस्करणमा पाँच दिने एआई फिल्म वर्कसप पनि समावेश गरिएको छ। वर्कसपमा प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट–प्रोडक्सनमा एआईको प्रयोगबारे छलफल गरिने अध्यक्ष पाठकले जानकारी दिए। इच्छुकले चैत ११ (मार्च २५) भित्र आवेदन दिन सक्नेछन्।

यसैगरी, ‘निफ फिचर पिच’ कार्यक्रममार्फत सर्ट फिल्म बनाउने अनुभव भएका लेखकहरूले आफ्नो फिचर फिल्मको कथा निर्मातासमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्।

आयोजकका अनुसार यसपटकको महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछ भने विभिन्न विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिनेछ। महोत्सवसम्बन्धी विस्तृत जानकारी चाँडै आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।

कमेन्ट गर्नुहोस्