फिल्म । एस.बि. क्रियसन प्रा.लि.ले तिहारको शुभ अवसरमा नेपाली फिल्म, गीत-संगीतको वर्तमान अवस्थाबारे अन्तर्क्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँमा शनिबार आयोजित सो कार्यक्रममा ‘जेनजी आन्दोलनपछिको फिल्म, गीत-संगीत एवम् मनोरञ्जन क्षेत्रको अवस्था’ शीर्षकमा गम्भीर बहस गरियो ।
नेपाल चलचित्र संघका उपाध्यक्ष तथा वितरक गोपालकाजी कायस्थले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको सबैभन्दा ठूलो असर हल सञ्चालकहरूलाई परेको बताए । उनले मुलुकका पाँचवटा फिल्म हलमा भएको आगजनीका कारण २० करोड रुपैयाँभन्दा माथिको प्रत्यक्ष क्षति भएको जानकारी दिए । जेनजी आन्दोलनपछि फिल्म बजार सुस्ताएको जिकिर गर्दै उनले गत वर्षको दसैँको तुलनामा यस वर्ष दसैँमा फिल्मको व्यापार निकै कम भएको बताए ।
अग्रज कलाकार तथा नाट्यकर्मी हरिहर शर्माले अब फिल्ममा जेनजी पुस्तालाई समेट्नुपर्नेमा जोड दिए । नेपाली फिल्म उद्योगले ६ दशकको यात्रामा ठूलो फड्को मारेको उल्लेख गर्दै उनले अब समयसापेक्ष फिल्महरू बन्नुपर्ने सुझाव दिए । उनले फिल्मसँगै मोडलिङ, गीत–संगीत, फेसन, ब्युटी जस्ता विविध मनोरञ्जनका क्षेत्रहरू पनि समयसापेक्ष परिवर्तन हुनुपर्ने बताए ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा अग्रज अभिनेता कृष्ण मल्लले अन्तर्क्रियामा बोल्दै यस पटक दसैँमा तीनवटा नेपाली फिल्म एकसाथ रिलिज हुँदा पनि राम्रो व्यापार गर्न नसकेको बताए । जेनजी आन्दोलनपछि नेपाली फिल्मको बजार केही सुस्ताएको जनाउँदै उनले अहिले पनि नेपालमा विदेशी फिल्मको दबदबा रहेको र दसैँमा रिलिज भएका तीन नेपाली फिल्मभन्दा भारतीय फिल्मले राम्रो व्यापार गरेको जानकारी दिए । उनले मौलिक नेपाली फिल्मको बजार राम्रो भएकाले मौलिक फिल्म निर्माणमा जोड दिए ।
समारोहको पहिलो सत्रमा अन्तर्क्रिया सकिएपछि तिहारको शुभकामना आदानप्रदानसँगै सम्मान तथा सांगीतिक कार्यक्रम आयोजना गरियो । कार्यक्रममा गायक ओम सुनारले गायन र बाल कलाकार स्नेहा बुढाथोकीले नृत्य प्रस्तुत गरेर माहोल संगीतमय बनाएका थिए । सो अवसरमा आ-आफ्नो क्षेत्रमा विभिन्न योगदान पुर्याएका व्यक्तित्व तथा सर्जकहरूलाई सम्मानित गरियो । सम्मानित हुनेहरूमा फिल्मकर्मीबाट निर्माता निर्देशक रोशनी केसी, छायांकार रामशरण उप्रेती, फिल्म निर्देशक माधवराज खरेल, फिल्म तथा फोटो पत्रकार बद्री थापा, गायक नरेश बिसी रहेका थिए ।
यसैगरी, ढाका फेसन व्यवसायी सकुमाया लिम्बु, साहित्यकार शनि लिम्बु, ब्युटिसियनहरू करुणा श्रेष्ठ, मैना श्रेष्ठ, सजना महर्जन, निर कमल प्रधान, अटोमोबाइल उद्यमी मेघबहादुर बुढाथोकी (विदुर), पस्मिना उद्यमी सुरेन्द्र गिरीलगायत सम्मानित भए ।










