‘स्पाइडर–म्यान : ब्रान्ड न्यू डे’को ट्रेलर सार्वजनिक

फिल्म । अभिनेता टम हल्याण्ड विश्वप्रसिद्ध पात्र स्पाइडर म्यानको रूपमा पुनः फर्किएका छन् । डिज्नी र सोनी पिक्चर्सको सहकार्यमा बनेको फिल्म ‘स्पाइडर–म्यान : ब्रान्ड न्यू डे’ को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ पछि हल्याण्डको पहिलो ‘स्पाइडर म्यान’ फिल्म हो । सन् २०२१ मा रिलिज भएको ‘नो वे होम’ विश्वव्यापी रूपमा ठूलो सफल बनेको थियो, जसमा टोबे म्याग्वायर र एन्ड्र्यु गारफिल्ड समेत देखिएका थिए ।

‘ब्रान्ड न्यू डे’ मा स्पाइडर म्यानको कथा नयाँ ढंगले प्रस्तुत गरिएको छ । यसमा हल्याण्ड नयाँ सूटमा देखिनेछन् । यो उनको चौथो एकल फिल्म तथा मार्भल सिनेमाटिक युनिभर्स (MCU) मा सातौँ उपस्थिति हो । ‘नो वे होम’ को अन्त्यमा पिटर पार्करले न्यूयोर्क सहर र मल्टिभर्सलाई जोगाउन ठूलो त्याग गरेका थिए । डाक्टर स्ट्रेन्जको जादुका कारण ग्रीन गोब्लिन र डाक्टर अक्टोपस जस्ता खलनायक अन्य संसारबाट एमसीयुमा आएका थिए, जसले परिस्थितिलाई थप जटिल बनाएको थियो ।

स्थिति समाधान गर्न पिटरले सबैले आफ्नो वास्तविक पहिचान बिर्सिने निर्णय गर्छन् । यसअघि ‘स्पाइडर म्यान : फार फ्रम होम’ को अन्त्यमा मिस्टेरियोले उनको पहिचान सार्वजनिक गरेका थिए । त्यसपछि उनकी प्रेमिका एमजे, साथी नेड र अरू सबैले पिटर नै स्पाइडर म्यान भएको कुरा बिर्सिन्छन् । आफ्नी काकी मेको मृत्युले भावुक बनेका पिटर अब एक्लै भएका छन् । उनी नयाँ रातो–निलो सूटमा पुनः मानिसहरूलाई बचाउन अघि बढ्छन् ।

फिल्ममा मार्क रफालोले आफ्नो चर्चित पात्र ‘हल्क’ को भूमिकामा तथा जोन बर्नथलले ‘पनिशर’ को भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् । साथै माइकल म्यान्डोले ‘स्कोर्पियन’ को भूमिकामा पुनरागमन गरेका छन् । यसका अतिरिक्त सेडी सिन्क, ट्रामेल टिलम्यान, लिजा कोलोन–जायस र मार्विन जोन्स थर्ड पनि फिल्ममा देखिनेछन् ।

कमेन्ट गर्नुहोस्