‘आ बाट आमा’लाई सबै उमेरका दर्शकले हेर्न पाउने

फिल्म । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार सेन्सर पास भएसँगै अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।

फिल्मका निर्देशक चन्द्र पन्तले सबै उमेरका दर्शकलाई लक्षित गरी फिल्म निर्माण गरिएको उल्लेख गरे । फिल्मका मुख्य कलाकार अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत प्रचारप्रसारका लागि भारतबाट नेपाल आइपुगेका छन् । यस्तै, अभिनेता पल शाह, उषा उप्रेती र सिमरन पन्त पनि फिल्म प्रचारमा जुटिरहेका छन् । फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ ले दर्शकमाझ राम्रो लोकप्रियता हासिल गरिरहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । गीतका भिडियोमा गंभीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ ।

फिल्मको छायाङ्कन नवराज उप्रेतीले गर्नुभएको हो । यसमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुनुहुन्छ ।

फिल्मको सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ । ट्रेलर र टिजर साहिल खानले तयार गर्नुभएको हो । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।

कमेन्ट गर्नुहोस्