गायनमा विजयको डेब्यु

फिल्म । रङ्गमञ्च र फिल्ममा जीवन्त अभिनयमार्फत दर्शकको मन जित्दै आएका अभिनेता विजय बराल अब नयाँ भूमिकामा देखिएका छन् । फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका बरालले ‘विधिको शासन’ बोलको गीतमार्फत गायनमा डेब्यु गरेका छन् । यो गायन डेब्यु केवल मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विसंगतिविरुद्धको सशक्त आवाजका रूपमा आएको छ ।

शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ । विशेषगरी भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरू गीतको मूल भाव बनेका छन् ।

गीतले देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अपरिहार्य हुने सन्देश दिएको छ । विसं २०४० सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ ।

आफ्नो पहिलो गायन अनुभवबारे अभिनेता बरालले भने, ‘मैले गाएको यो पहिलो गीत हो । वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । उनीहरूको विश्वासलाई आत्मसाथ गर्दै यो प्रयास गरेको हुँ ।’

उनले थपे, ‘यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनका लागि होइन । यो सत्ता र प्रणालीप्रति गरिएको व्यङ्ग्य र खबरदारी हो । देशमा सुनौला सपनाहरू कसरी खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने सन्देश यसमा समेटिएको छ ।’

गीतको अडियोजत्तिकै यसको भिडियो पनि सशक्त बनाइएको छ । मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक आन्दोलनका वास्तविक तस्बिर र फुटेज प्रयोग गरिएको छ ।

विसं २०४० सालका आन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनका क्रममा देखिएको प्रहरी दमन र युवाहरूको आक्रोशलाई भिडियोमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ । यसले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई ऐतिहासिक दस्तावेजजस्तै प्रभावशाली बनाएको छ ।

कमेन्ट गर्नुहोस्