‘ब्याटल अफ गलवान’ मा सलमानसँगै देखिए अनुप

फिल्म । अभिनेता अनुपविक्रम शाही आफ्नो डेब्यु बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर उत्साहित देखिएका छन् । फिल्मको डबिङका लागि उनी छिट्टै मुम्बई जाने तयारीमा रहेको बताइएको छ । शनिबार फिल्मको पहिलो गीत ‘मातृभूमि’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेता शाहीलाई संक्षिप्त रूपमा देख्न सकिन्छ, जहाँ उनी सेनाको भूमिकामा प्रस्तुत भएका छन् ।

गीतमा अनुपविक्रम शाही तीन फरक दृश्यमा देखिन्छन् । एक दृश्य वाइड सटमा, दोस्रो क्लोजअपमा र तेस्रो दृश्यमा उनलाई बलिउडका सुपरस्टार सलमान खानसँगै चित्रण गरिएको छ । सलमानजस्ता विश्वचर्चित कलाकारसँग स्क्रिन सेयर गर्नु अनुपका लागि करिअरको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

भारतीय देशभक्तिपूर्ण भावमा तयार गरिएको गीतमा सलमान खान, अनुपविक्रम शाहीसँगै अभिनेत्री चित्रांगदा सिंह पनि फिचर्ड छिन् । फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा भएको झडपको कथालाई प्रस्तुत गर्नेछ । अपूर्व लाखियाको निर्देशनमा बनेको फिल्म ‘ब्याटल अफ गलवान’ आगामी १७ अप्रिल २०२६ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

कमेन्ट गर्नुहोस्