फिल्म । अभिनेता यशको आगामी फिल्म ‘टक्सिक: अ फेयरी टेल फर ग्रोन अप्स’ को टिजर सार्वजनिक भएपछि विवादमा परेको छ । टिजरमा देखाइएको एक विवादास्पद दृश्यलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आलोचना बढ्दै गएपछि टिजरमा देखिएकी ब्राजिलियन मोडल तथा अभिनेत्री बीएत्रिज टाउफेनबाखले आफ्नो इन्स्टाग्राम अकाउन्ट निष्क्रिय गरेकी छन् ।
टिजर सार्वजनिक भएपछि उक्त दृश्यमा देखिएकी महिलाको पहिचानबारे चासो बढेको थियो । सुरुमा केही सञ्चारमाध्यमले अभिनेत्री नाटाली बर्न भएको दाबी गरे पनि पछि फिल्मकी निर्देशक गीतु मोहनदासले इन्स्टाग्राममार्फत बीएत्रिज टाउफेनबाखको तस्बिर सार्वजनिक गर्दै उनलाई परिचय गराएकी थिइन् । उनले पोस्टमा ‘यही मेरी ‘सेमेट्री गर्ल’ बीएत्रिज टाउफेनबाख हुन्’ भनेर उल्लेख गरेकी थिइन् ।
टिजरलाई लिएर विवाद चर्किँदै गएपछि बीएत्रिजको इन्स्टाग्राम अकाउन्ट हाल उपलब्ध नरहेको देखिएको छ । अकाउन्ट खोज्दा ‘प्रोफाइल इजनट एभाइलेबल’ भन्ने सन्देश देखिन थालेको छ, जसका कारण उनले अकाउन्ट डिलिट वा डिएक्टिभेट गरेको अनुमान गरिएको छ ।
यसबीच, आम आदमी पार्टी (आप) को महिला संगठनका नेताहरूले कर्नाटक राज्य महिला आयोगमा टिजरविरुद्ध उजुरी दर्ता गराएका छन् । उनीहरूले टिजरमा देखाइएका दृश्यहरू आपत्तिजनक भएको भन्दै टिजर हटाउन माग गरेका छन् । उजुरीपछि आयोगले केन्द्रीय फिल्म प्रमाणिकरण बोर्डलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ ।
गीतु मोहनदासको निर्देशनमा बनेको फिल्म ‘टक्सिक’ यश र गीतु मोहनदासकै लेखनमा तयार भएको हो । फिल्ममा यश मुख्य भूमिकामा छन् भने कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, रुक्मिणी वसन्त र तारा सुतारिया पनि कलाकारका रूपमा समावेश छन् ।










