फिल्म । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म ‘मिरमिरे’ आजदेखि प्रदर्शनमा आएको छ । माघेसंक्रान्तिको अवसर पारेर देशभर प्रदर्शन सुरु भएको उक्त फिल्मको मुख्य विषयवस्तु बुवाछोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा हो । ‘मिरमिरे’ यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको हो । यार्सा फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन् । आरआर फिल्म्सका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल कार्यकारी निर्माता रहेका छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ । १ सय ५ मिनेट रनटाइम रहेको यो फिल्मले देशव्यापी करिब १५० भन्दा बढी शो पाएको वितरण कम्पनीले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकाभित्र १६ शो दिएको छ भने मोफसलमा २३ शो पाएको छ । यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका ६ वटा आउटलेटमा ११ शो, बिग मुभिजमा ३ शो, एफक्युब सिनेमामा ५ शो र वान सिनेमाज्का दुई आउटलेटमा ९ शो दिइएको छ ।










