७५औँ पुरा गरेको ‘परान’ हेर्दा ७५ छुट

फिल्म । फिल्म ‘परान’ ले आफ्नो प्रदर्शनको ७५औँ दिन पूरा गरेको छ। सो अवसरमा निर्माण टिमले केही दिनका लागि टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरेको छ । निर्माता रञ्जित आचार्यका अनुसार, ‘परान’ हेर्न छुटाउनुभएका दर्शकलाई लक्षित गर्दै ७५औँ दिनको उत्सवका रूपमा यो छुट योजना ल्याइएको हो ।उक्त छुट केही दिनका लागि मात्र लागू हुने जनाइएको छ।

निर्माता आचार्यका अनुसार यो छुट खल्ती एपमार्फत टिकट काट्ने दर्शकका लागि मात्र उपलब्ध हुनेछ । खल्ती एपबाट टिकट खरिद गर्दा ७५ रुपैयाँ क्यासब्याक पाउन सकिनेछ । मंगलबार मात्रै काठमाडौंमा ‘परान’ का पाँच शो सञ्चालन भएका थिए भने खल्ती एपमा बुधबारका लागि छ वटा शो उपलब्ध छन् ।

फिल्म विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘परान’ ले गत शनिबार (७२औँ दिन) सम्म आइपुग्दा १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँको व्यापार गरेको छ । ‘परान’ फिल्मको निर्देशन दीपकप्रसाद आचार्य (काकु) ले गरेका हुन् । आचार्यकै कथामा आधारित यस फिल्मको पटकथा र संवाद यम थापाले लेखेका छन् । देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो ।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्