‘दिमाग खराब’ को प्रदर्शन नरोकिने

फिल्म । प्रदर्शनरत फिल्म ‘दिमाग खराब’ मङ्सिर ५ गतेसम्म प्रदर्शन गरिने भएको छ । फिल्मका निर्माता तथा निर्देशक निश्चल बस्नेतले विदेशी फिल्म झैँ शो पाउनु पर्ने र कुल व्यापारको पचास प्रतिशत पाउनु पर्ने माग राखेका थिए । यो सम्भव नभए शुक्रवारदेखि फिल्म प्रदर्शनमा रोक लगाइने घोषणा भएपछि नेपाल चलचित्र संघमा सम्बद्ध पक्षसँग भएको वार्ता पश्चात पुर्वतरुपमा मंगलवारसम्म प्रदर्शन गरिने सहमति भएको संघका महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

‘बिहिबार दिन दिमाग खराबका निर्माताहरु र नेपाल चलचित्र संघको कार्य समितिबिचको छलफल सकारात्मक भएकाले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरुमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार पूर्ववत् रुपमा चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरियो’, महासचिव महर्जनले भने ।

उक्त सहमति पश्चात हलबाट ‘दिमाग खराब’को प्रदर्शन हटाउने निर्णयबाट निर्माता पछि सरेका छन् । अब, मंसिर ५ गते हुने अर्को वार्ताले बाँकी निर्णय गर्नेछ । उक्त वार्तामा चलचित्र संघका महसचिवसँगै प्रतिनिधी र निर्माता रौनिक बिक्रम कँडेल र निर्देशक निश्चल बस्नेतलगायत सहभागी थिए ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । यसमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

कमेन्ट गर्नुहोस्