देश । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै सातबुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ । आगामी एक दशकको मुलुकको मार्गचित्र प्रस्तुत गर्दै दुवैले त्यसमा इमानदार प्रतिबद्धता जनाएका छन् ।
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत् राखिने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा दुवैले आफ्नो-आफ्नो पदीय हैसियत उल्लेख नगरी नाम मात्र लेखेका छन् । रवि लामिछानेले पार्टी सभापतिको हैसियतमा हस्ताक्षर गरेका छैनन् भने मेयर शाहले पनि आफ्नो पदीय विवरण खुलाएका छैनन् । सम्झौतापछि बालेन शाहले मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुने सम्भावना रहेको बताइएको छ ।
सम्झौतापत्रको पहिलो बुँदामा नवयुवा (जेनजी) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ । दोस्रो बुँदामा समुन्नति र सामाजिक न्यायका लागि नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने तथा नेपाललाई आगामी १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यमा समर्पित रहने उल्लेख छ ।
सम्झौतामा रवि लामिछाने र बालेन शाहलाई क्रमशः पहिलो र दोस्रो पक्षका रूपमा उल्लेख गर्दै बृहत् राजनीतिक एकताको घोषणा गरिएको छ । पार्टीको नाम, झण्डा र चुनाव चिह्न पुरानै रहने स्पष्ट गरिएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,’ सम्झौतापत्रमा उल्लेख छ ।
पटक-पटक एकताको छलफल भए पनि सम्झौतापत्रमा कुलमान घिसिङ र उनी आबद्ध उज्यालो नेपाल पार्टीबारे भने उल्लेख गरिएको छैन । यद्यपि, बृहत् एकताको क्रममा अन्य वैकल्पिक राजनीतिक शक्ति र व्यक्तिहरूलाई पनि समेट्ने संकेत गरिएको छ ।
सम्झौतामा पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ । यो सम्झौता तत्काल कार्यान्वयनमा लैजाने र निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख तथा दस्तावेज अद्यावधिक गर्ने घोषणा पनि गरिएको छ ।
सम्झौताअनुसार अब बालेन पक्षका समानुपातिक उम्मेदवारहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाटै प्रतिस्पर्धा गर्नेछन् । सम्भवतः दुई दिनभित्र आपसी सहमतिमा समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइने बताइएको छ भने प्रत्यक्षतर्फको मनोनयनका लागि अझै केही समय बाँकी छ । उनीहरूले आफ्नो अभियानलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढाउँदै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य परिवर्तनकामी शक्ति, समूह र व्यक्तिहरूलाई समेत आह्वान गरेका छन् ।
यसअघि रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तीव्रता पाएको थियो । सो क्रममा दुवै पक्षले उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गरे तापनि आइतबार बिहान सम्पन्न सम्झौतामा उनी सहभागी छैनन् ।









