फिल्म । भारतीय क्लासिक फिल्म ‘शोले’ को पुनः रिलिज संस्करण ‘शोलेः द फाइनल कट’ ले पहिलो हप्तामै उल्लेखनीय व्यापार गरेको छ । फिल्मले भारतमा पहिलो सातामा १ करोड ५० लाख भारतीय रुपैयाँ नेट कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । व्यापार विवरणअनुसार फिल्मले पहिलो दिन २० लाख रुपैयाँ कमाइ गरेको थियो भने दोस्रो दिन ४० लाख रुपैयाँको कारोबार गरेको थियो । आइतबार फिल्मले सर्वाधिक ५० लाख रुपैयाँ कमाइ गरेको बताइएको छ। त्यसपछि सोमबारदेखि बिहीबारसम्म फिल्मले दैनिक १०–१० लाख रुपैयाँको व्यापार गरेको जनाइएको छ।
सन् १९७५ मा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘शोले’ ले ५० वर्ष पूरा गरेको अवसरमा यही डिसेम्बर १२ मा भारतभर पुनः रिलिज गरिएको हो । यसपटक फिल्मलाई फोर के (4K) र डल्बी ५.१ ध्वनि प्रविधिमा रूपान्तरण गर्दै नयाँ संस्करण दर्शकमाझ ल्याइएको छ । ‘शोलेः द फाइनल कट’ मा सन् १९७५ मा सेन्सरका कारण प्रदर्शन हुन नसकेको मूल अन्त्यसहित त्यसबेला हटाइएका केही दृश्यहरू पनि समावेश गरिएको छ, जसले दर्शकको चासो थप बढाएको छ ।
रमेश सिप्पी निर्देशित ‘शोले’ भारतीय फिल्म इतिहासकै सर्वाधिक चर्चित र प्रभावशाली क्लासिकमध्ये एक मानिन्छ । फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ । पुनः प्रदर्शनले दर्शकहरूमा पुराना सम्झनाहरू ताजा गराएको प्रतिक्रिया आइरहेका छन् । नेपालमा भने यो फिल्म गत मंगलबारदेखि प्रदर्शनमा आएको छ ।









