देश । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बागमती प्रदेशले काठमाडौं जिल्लाका प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । बागमती प्रदेश समितिको निर्णयअनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरिएको हो ।
सार्वजनिक सूचीअनुसार काठमाडौं क्षेत्र नं. १ बाट प्रकाश नायजु, क्षेत्र नं. २ बाट मधुसूदन पुडासैनी, क्षेत्र नं. ३ बाट प्रनिलध्वज कार्की, क्षेत्र नं. ४ बाट मनीषकुमार मिश्र, क्षेत्र नं. ५ बाट दानेन्द्र जोशी उम्मेदवार सिफारिस भएका छन् ।
यस्तै, काठमाडौं क्षेत्र नं. ६ बाट शशि श्रेष्ठ, क्षेत्र नं. ७ बाट दिप्ती नयजु, क्षेत्र नं. ८ बाट सन्तोष देउला, क्षेत्र नं. ९ बाट रणवीर क्षेत्री सिंह र क्षेत्र नं. १० बाट रविन श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
लोसपा बागमती प्रदेश अध्यक्ष करण श्रेष्ठद्वारा हस्ताक्षरित उक्त पत्रमा पार्टीले काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा संगठित रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिएको छ । पार्टीले लोकतान्त्रिक समाजवादको एजेन्डालाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।








