फिल्म । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाएको छ । प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा फिल्मले कमाइका नयाँ कीर्तिमान कायम गर्दै कैयौँ चर्चित फिल्महरूलाई समेत पछि पारेको छ । ओपनिङ विकेन्डमा १ सय ५८ करोड भारतीय रुपैयाँ कमाएर सुखद सुरुवात गरेको ‘धुरन्धर’ ले दोस्रो सातामा आफ्नो व्यापारलाई झन् बढाएको छ । बलिउड बक्स अफिसको इतिहासमै दोस्रो विकेन्डमा पहिलो हप्ताको तुलनामा व्यापार बढ्नुलाई एक विरलै घटना मानिएको छ ।
फिल्मले दोस्रो हप्तामा शुक्रबार ३४ करोड ७० लाख, शनिवार ५३ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३१ करोड ८० लाख, मंगलवार ३२ करोड १० लाख र बुधवार २५ करोड ७० लाखसहित कुल ४ सय ५४ करोड २० लाख रुपैयाँको कमाइ गरेको छ । बक्सअफिसमा धामाकेदार कलेक्सन गरिरहेको फिल्म ‘धुरन्धर’ लाई ओटीटीमा नेटफ्लिक्सले रिलिज गर्ने भएको छ । भारतीय मिडियाका अनुसार उक्त फिल्मलाई दर्शकले सन् २०२६ को जनवरी ३० देखि नेटफ्लिक्समा हेर्न पाउनेछन् । फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षय खन्ना को ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ ।
फिल्ममा रणवीरसँगै अक्षय खन्ना, संजय दत्त, अर्जुन रामपाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन तथा निर्माण गरेका हुन् ।









