प्रचारका नाममा भावनाको दुरुपयोग अस्वीकार्य : बेनिशा

फिल्म । अभिनेत्री बेनिशा हमालले प्रचारका नाममा कलाकारको भावना र मर्यादालाई प्रयोग गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पेशागत आचरण र मानवीय संवेदनाको सम्मान सबैभन्दा महत्वपूर्ण भएको बताएकी हुन्।

करिब १४ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय रहँदै आएकी हमालले आफ्नो करियरभरि कामप्रति इमानदार र जिम्मेवार रहने प्रयास गरेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘म पेशागत आचरणमा विश्वास गर्छु र मानिसहरूको भावनाको सधैं कदर गर्ने प्रयास गर्छु ।’

राम्रो टिमसँग काम गर्ने अवसर पाएको अनुभवसँगै कहिलेकाहीँ कम पेशागत टिमसँग पनि काम गर्नुपरेको यथार्थ उनले स्वीकार गरेकी छन् । तर, परिस्थिति जस्तोसुकै भए पनि कलाकारको हैसियतले मानवीय मूल्य र मर्यादाको सम्मान गर्नुपर्ने उनको भनाइ छ । एक कलाकारले के साझा गर्ने र के नगर्ने भन्ने स्पष्ट सीमा हुने उल्लेख गर्दै उनले फिल्मसँग प्रत्यक्ष सम्बन्ध नभएका विषयलाई प्रचारका लागि प्रयोग गर्नु उपयुक्त नहुने धारणा राखेकी छन् ।

‘फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ’, अभिनेत्री हमालले स्पष्ट रूपमा आफ्नो असहमति व्यक्त गरेकी छन् ।

उनको यो अभिव्यक्तिलाई फिल्म क्षेत्रमा बढ्दो अस्वस्थ प्रचार प्रवृत्तिप्रति चेतावनीका रूपमा हेरिएको छ । कलाकारको पेशागत मर्यादा र भावनात्मक सीमाको सम्मान गर्नुपर्ने विषयमा उनको भनाइले चर्चा पाएको छ ।

कमेन्ट गर्नुहोस्