महेशको द्वैभाषिक कविता संग्रह ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

साहित्य । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ । आयोजित पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार, समालोचक, पाठक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

द्वैभाषिक (नेपाली-अंग्रेजी) रूपमै प्रकाशित यस कृतिमा कविका मूल नेपाली कवितासँगै उनका १४ वर्षीय छोरा सम्राटबाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश गरिएको छ । कृति शरीर, मन र आत्मा नामक तीन खण्डमा विभाजित छ, जसमा मानवीय संवेदना, सामाजिक यथार्थ, पहिचान, प्रकृतिको प्रहार, प्रेम-वियोग र दार्शनिक चिन्तनका विविध तहहरू समेटिएका छन् ।

कार्यक्रमको मुख्य आकर्षण कविता वाचन सत्र थियो । यस क्रममा कवि तिमल्सिनाले ‘अन्तिम सलाम’ र ‘एउटा खराब सपना’ कविताहरू नेपाली भाषामा वाचन गरे भने त्यसमै सम्राटले ती कविताहरू अंग्रेजी अनुवादमा प्रस्तुत गरे । दुवै भाषामा गरिएको प्रस्तुतिले उपस्थित दर्शकमा गहिरो प्रभाव पारेको थियो ।

यसअघि प्रकाशित तिमल्सिनाको कृति ‘अजम्मरी अक्षरहरू’ जस्तै, समालोचकहरूले यसपटक पनि उनको लेखनलाई जीवनबोध, समाजबोध र समयबोधका विभिन्न कोणबाट विश्लेषण योग्य रहेको टिप्पणी गरे । कार्यक्रममा नेपाली र अंग्रेजी दुवै भाषामा कविता वाचन, लेखक-अनुवादक अन्तरक्रिया तथा पुस्तक सिर्जनाको यात्राबारे रोचक प्रस्तुति गरिएको थियो ।

कमेन्ट गर्नुहोस्