‘आ बाट आमा’ को टिजरमा सकारात्मक प्रतिक्रिया

फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजरले सार्वजनिक भएको दुई दिनमै ११ लाख भ्युज पार गर्दै युट्युबमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।रिलिज भएको छोटो समयमै एक मिलियनभन्दा बढी दर्शकले हेरेको टिजरले निर्माण टिमलाई उत्साहित बनाएको छ । टिजरलाई अहिलेसम्म ५२ हजार बढी दर्शकले लाइक गरेका छन् भने २१ सयभन्दा बढी कमेन्टसहित दर्शकले फिल्मप्रतिको उत्सुकता व्यक्त गरेका छन् ।

धेरै दर्शकले ‘आ बाट आमा’ भन्ने शीर्षक नै फिल्मप्रतिको भावनात्मक प्रभाव बुझाउन पर्याप्त भएको प्रतिक्रिया दिएका छन् । विदेशिन लागेको छोराप्रति आमाबुबाको वेदनालाई टिजरले प्रभावकारी रूपमा प्रस्तुत गरेको दर्शकले बताएका छन् । नेपाली समाजमा धेरै परिवारको कथा झल्कने भएकाले पनि टिजर छोटो समयमै लोकप्रिय भएको छ ।

छोटो समयमा युट्युबमा यति धेरै भ्युज बटुलेको सम्भवतः यो पहिलो नेपाली फिल्मको टिजर भएको देखिन्छ । विदेश जान तयारीमा रहेको छोराप्रति अभिनेत्री विपना थापा र प्रदीप रावतले देखाएको कारुणिक भावनाले दर्शकलाई भावुक बनाएको छ । चितवन, काठमाडौंलगायत विभिन्न स्थानमा सुटिङ गरिएको यस फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेतीलगायत कलाकारले मुख्य भूमिका निभाएका छन्। ‘आ बाट आमा’ले आमाबुबा र सन्तानबीचको माया, ममता र स्नेहको कथालाई केन्द्रमा राखेको छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको डिओपी नवराज उप्रेती हुन्। संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । ‘आ बाट आमा’ आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउनेछ।

कमेन्ट गर्नुहोस्