लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ सुरु

देश । विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा तीनदिने ‘विश्व शान्ति कार्यक्रम’को तेस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फ्रेन्स हलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन र आयोजक ‘द प्रमिस ल्यान्ड’का अध्यक्ष निकेश अधिकारीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे ।

उद्घाटनपछि कार्यवाहक मेयर हरिजनले लुम्बिनी क्षेत्रमा रहेका १० सामुदायिक विद्यालयमा बुद्ध शिक्षा लागू गर्न पहल गरिने बताइन् । उनले भनिन्, ‘विश्वका नगरपालिका धेरै छन्, तर बुद्ध जन्मस्थल एक मात्रै छ। विश्व शान्ति र समृद्धिका लागि यस्ता कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छन्।’

कार्यक्रमको पहिलो दिन इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँग सुधांशु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्ति तथा समुदाय सशक्तीकरणका विषयमा संवाद गरे । जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले नेपालमा १० हजार वर्ष पुरानो आध्यात्मिक इतिहास रहेको उल्लेख गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिए ।

त्यसैगरी, अभिनेता राजेश हमाल र ‘ट्रेजर कार्बन ग्रुप’की सीईओ सुसन झुले ‘किनोट स्पिच’ दिए । हमालले नेपालीहरूमा निराशा भए पनि मुस्कुराउँदै बोल्ने ठूलो सम्पत्ति रहेको बताए । कार्यक्रममा सागर भन्तेले लुम्बिनी क्षेत्रभित्र ‘दुईवटा लुम्बिनी’ रहेको उल्लेख गर्दै विकास कोषभन्दा बाहिरका बासिन्दाका लागि विकास–उन्नतिमुखी काम आवश्यक रहेको बताए । ‘विश्वका धनाढ्य बुद्धिस्टहरू लगानीका लागि इच्छुक छन्। स्थानीय निकायसँग समन्वय गरेर कानुनअनुसार काम गर्न सकिन्छ’, उनले जोड दिए।

शनिबारसम्म चल्ने कार्यक्रममध्ये २५ अर्बपतिसहित नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्रसंघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका सफल व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहने कार्यक्रम संयोजक शेखर गौतमले बताए । उनका अनुसार तीन दिनसम्म शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्यायलगायत विषयमा बहस हुनेछ। स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी तथा सीमान्तकृत समुदायका आवाजलाई पनि कार्यक्रममा समेटिएको छ ।

कार्यक्रमअन्तर्गत सांस्कृतिक प्रदर्शनी, संगीत तथा कलात्मक अभिव्यक्तिका विभिन्न सत्र पनि सञ्चालन हुनेछन् ।

कमेन्ट गर्नुहोस्