फिल्म । निर्देशक शोभित बस्नेतले आगामी समयमा वर्षेनी एक फिल्म निर्देशन गर्ने बताएका छन् । आगामी मङ्सिर २६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘पीआर’को प्रचारप्रसारका क्रममा निर्देशक बस्नेतले आफू निर्देशन कर्मबाट टाढिन नसक्ने बताए ।
‘मैले परिवारलाई समय दिन नसकेको कारणले केही समय विश्राम लिएको थिएँ । उक्त समयमा म निर्देशन बाहेक अन्य कर्ममा व्यस्त भएँ । मैले फिल्ममा अभिनय गरें, निर्माण पनि गरें तर मेरो चिनारी निर्देशन हो । मैले निर्देशनलाई निरन्तरता दिनुपर्छ भन्ने लागेर नै एक दशकपछि फर्किएको छु । अब वर्षेनी एक वा दुई वर्षमा एक फिल्म निर्देशन गर्छु’, निर्देशक बस्नेतले भने ।
उनले नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई फिल्ममा देखाएको बताए । अस्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने सपना र सङ्घर्षमा केन्द्रीत फिल्ममा लभस्टोरी,बिछोड तथा आफ्नो देश आफ्नै हुनछ भन्ने सन्देश दिन खोजिएको छ ।
फिल्ममा आर ए सुरज पौडेल,विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यस फिल्मको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’ संवादले दर्शकको मन छुनेमा निर्माण पक्षको बुझाई छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।
सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको यस फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन् । साथै गणेश बुढाथोकीको लेखन रहेको यस फिल्मका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ । फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ भने वितरण आर आर फिल्म्सले गर्दैछ।












