देश । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली सङ्घ (NRNA) मा लामो समयदेखिको विवाद अन्त्य गर्दै ‘बृहत् एकताको सहमति’ भएको छ । दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनपछि सिर्जित परिस्थितिका कारण विभाजित बन्न पुगेको अभियान विगत चार वर्ष लामो सङ्क्रमणकाल पार गर्दै सहमति र सहकार्यमार्फत पुनः भावनात्मक रूपमा एकताबद्ध भएको घोषणा गरिएको छ ।
स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूबीच विशिष्ट, संगठित र एकीकृत संस्थाका रूपमा स्थापित गैरआवासीय नेपाली अभियान अब स्वतन्त्र, स्वायत्त, गैर-राजनीतिक, सामाजिक तथा परोपकारी संस्थाका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । बृहत् एकताको यस सहमतिलाई एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री के.सी. र एकताको महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वमा रहेको कार्यसमितिको सहअस्तित्वको आधारमा कार्यान्वयन गरिने जनाएइको छ । यससँगै, दुवै नेतृत्वलाई आधिकारिकता प्रदान गरिएको छ ।
एकताको लागि भद्र सहमतिमार्फत बाह्रौँ महाधिवेशन ढिलोमा ६ महिनाभित्र सम्पन्न गरिने बताइएको छ । यस्तै, महेशकुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई १२औँ महाधिवेशन सम्पन्न नभएसम्मका लागि पूर्ण कार्यकाल मानिनेछ ।
बाह्रौँ महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्नका लागि आगामी महाधिवेशनमा उम्मेदवार नहुने व्यक्तिहरू सम्मिलित ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिने बताइएको छ । एनआरएनएको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका सबै मुद्दाहरू सबै पक्षले फिर्ता लिने वा आपसी सहमतिका माध्यमबाट समाधान गर्ने पनि सम्झौतामा उल्लेख छ ।
यो सहमति सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरी मन्त्रालयमा अभिलेखीकरण गर्ने निर्णय गरिएको छ ।सहमतिको कार्यान्वयन संघको विधान र कार्यविधि अनुसार गरिनेछ र कुनै विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने व्यवस्था मिलाइएको छ ।








